ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीको सदरमुकाम बेनी खुला

२०७७ कार्तिक, २७  
गण्डकी प्रदेश
NA

म्याग्दी । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार र सेवा ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिशमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिशका आधारमा बन्द खुलाइएको बताए । कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवाका साथै बजारका पसल बन्द गरिएको थियो । ५८१ घरको ३ हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताए ।

घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवन सहज र आर्थिक गतिविधि चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिश गरेको थियो । प्रशासनले भीड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर, मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो । तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव, भेला गर्न रोक लगाइएको भन्दै प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ ।

मंगला गाउँपालिकाले मङ्सिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्म गरेको सेवा तथा बजार बन्द यथावत् राखेका छन् । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको बताएको छ । म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्