ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटकको रोजाइ बन्दै जंगली रातो च्याउ

२०७७ कार्तिक, २७  
गण्डकी प्रदेश
Image Not Found

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरवासको मुख्य परिकार हो जंगली रातो च्याउ । ताराखोलाको डुडेलेकको जंगलको ठुटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरवासमा पुग्ने गरेका छन् ।

रातो च्याउबाहेक जंगली सेतो च्याउ, फापर, भाँगोको चटनी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल घारवासको मुख्य आकर्षण हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरू र स्थानीय परिकारका पारखीहरू ठूलो हिले पुग्ने गरेका छन् ।

तारोखोला गाउँपालिकाको अधिकांश जंगलमा रातो च्याउ पाइन्छ । जंगलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनुपर्ने भएकाले यसको मूल्य निकै महँगो छ । प्रोटिन र भिटामिनका लागि समेत राम्रो मानिने जंगली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको घरवासका सञ्चालक तेजेन्द्रबहादुर श्रीशले जानकारी दिए ।  घरवास नखुल्दै समेत यहाँ सामान्य पर्यटकहरू घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरवास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटक बढ्न थालेका छन् ।

जंगली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयवासीले जंगली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मूल्य ताराखोलामै २ हजार ५०० देखि ३ हजारसम्म पर्दै आएको ताराखोलाका स्थानीयवासी वसन्ती घर्तीले बताइन् ।

सुकेको रातो च्याउको माग धेरै भएपछि पु¥याउनै नसकिएको घर्तीको भनाइ छ । स्थानीयवासीले जंगलमा घाँस दाउरा गर्न जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक विक्रीवितरण नभएको स्थानीयवासी धनबहादुर बुढाले बताए । अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको बुढाको भनाइ छ । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ । जंगलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयवासीले मात्रै खानामा प्रयोग हुने च्याउ पहिचान गर्न सक्छन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ थोरधेर सुकाएकै पाइन्छ ।  

रातो च्याउ ताराखोलासहित गलकोटको रमुवा, ढोरपाटन तमानखोलालगायत जंगलमा पाइन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्