ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुसीकोटका किसानलाई दूधमा अनुदान

२०७७ कार्तिक, २७  
प्रदेश ०५
NA
author avatar प्रवीर ददेल

रुकुम । भैंसीपालन तथा गाईपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई दूधमा अनुदान दिइएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपलिकाले दुग्ध कृषकलाई प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदानको व्यवस्था गरेको हो ।

गत वर्षदेखि शुरू गरिएको दूधमा अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको मुसीकोट नगरपालिकाका उपप्रमुुख प्रेमकुमारी सुनारले जानकारी दिएकी छिन् ।

उक्त अनुदान कार्यक्रम शुरू भएपछि मुसीकोट नगरपालिका–२ का रमेश केसीले गतवर्ष भैंसीपालनबाट २४ हजार रुपैयाँ अतिरिक्त आम्दानी गरे । यस्तै वडा नं ४ का राजु ओलीको १९ हजार थप आम्दानी हुँदा वडा नं १३ का नारायण खड्काले पनि १७ हजार अतिरिक्त कमाए ।

कार्यक्रममार्फत नगरपालिकाका दूध उत्पादक कृषकले अतिरिक्त कमाइ गरिरहेका छन् । गत आर्थिक वर्ष शुरू भएको कार्यक्रम ६ महीना मात्र चलेको थियो । गतवर्ष १५ जना किसानले यो अनुदान पाएका थिए ।

नगरपालिकाले अनुदान कार्यक्रम ल्याएपछि उत्साह बढेको कृषक केसीले बताए । ‘भैंसी किन्न र भकारो सुधारमा पनि अनुदान पाइरहेका छौं,’ उनले भने, ‘दूधमा पनि अनुदान दिएपछि थप व्यावसायिक बन्न सहयोग पुगेको छ ।’

अहिलेसम्म १ लाख १५ हजार रुपैयाँ अनुदानबापत किसानलाई वितरण गरिएको नगरप्रमुख देवीलाल गौतमले बताए । ‘व्यक्तिगत तथा सामूहिक रूपमा दूध उत्पादनमा लागेका कृषकलाई यो सुविधा दिएका छौं,’ उनले भने, ‘कार्यक्रमले किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको छ ।’

नगरपालिकाका अनुसार अनुदान पाउन किसानले १ वर्षमा कम्तीमा ५०० लिटर दूध सूचीकृत डेरीमा विक्री गरेको हुनुपर्छ । यो वर्ष नगरपालिकाले भैंसी प्रवद्र्धन कार्यक्रमका लागि २१ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट पनि झण्डै २१ लाख रुपैयाँ अनुदान आएको नगरप्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्