ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तामा,फलाम र ढुंगा खानीको गाउँ : नर्जाखानी !

उत्खनन् गर्न स्थानीय बासिन्दाको माग

२०७७ कार्तिक, २७  
गण्डकी प्रदेश
Image Not Found
पुर्खाहरुले तामा निकालेको स्थान देखाउँदै वडाअध्यक्ष कुल बहादुर छन्त्याल । तस्वीर : अर्जुन कार्की
author avatar अर्जुन कार्की

बागलुङ २७, कार्तिक । बागलुङ जिल्लाको सवैभन्दा माथिल्लो उचाइमा रहेको गाउँ हो तमानखोला गाउँपालिका–६ को नर्जाखानी । उक्त गाउँ समुन्द्र सतहदेखि २ हजार ३५० मिटरको उचाइमा रहेको छ ।

बागलुङ बजारदेखि सवारी साधनमा साढे पाँच घण्टाको यात्रा पछि पुगिने उक्त गाउँमा हिडेर दुई दिन लाग्ने गर्छ ।वरिपरी डाँडाहरुले घेरिएको नर्जाखानी गाउँका डाँडाहरुमा खनिज तथा खानी रहेको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

बाउबाजेको पालामा नर्जाखानीमा रहेका तामाखानीमा उत्खन्न भइरहेपछि तत्कालीन श्री ३ चन्द्र शमसेरको पालामा खानीहरु बन्द भएको स्थानीय ओम प्रसाद छन्त्यालले बताए । उनले गाउँ वरिपरी घेरिएका पहाडहरुमा तामा खानी र टल्कीने ढुंगा रहेकोले त्यसको उत्खनन् गर्न सरकार लगायत अन्य निकायले विशेष चासो राख्नु पर्ने बताए ।

उनले आफ्ना बाजे वर्षविर छन्त्याल नर्जाखानीमा रहेको खानीको डिठ्ठा रहेको र उनीहरुले तत्कालिन श्री ३ चन्द्र शमसेरको पालामा तामा बुझाउन नसकेपछि बन्द गरेको आफ्ना बुबा रुपलाल छन्त्यालले जानकारी गराएको बताए ।

उनले आफ्ना पुर्खाहरु पढेलेखेको भएपनि उनीहरुले मत्ती खन्ने (खानी काट्ने) मात्र काम गर्ने गरेको र आफ्ना बाउबाजेहरुले खानी खन्दै गर्दा नर्जाखानीमा आएर तामाको उत्खनन् गर्ने गरेको बताए । 

‘उक्त समयमा हाम्रो पुर्खाको अन्य खेती किसानी केहि थिएन रे,’ उनले भने, ‘पुर्खाका अनुसार अहिलेको आधुनिक युगमा विजुली भएपनि उनीहरुले उक्त समयमा निगालो काटेर दुई, तीन महीनासम्म खोलामा राख्ने र निगालोमा कालो लेउ लागेपछि त्यसलाई निकालेर घाममा सुकाएर बाल्दै खानी उत्खनन् गर्ने गरेका थिए ।’उनले नर्जाखानी गाउँमा वरिपरी रहेको सवै भू–भागमा खानी रहेको बताए ।

‘यहाँ रहेको भू–भागमा ठूलो मात्रामा तामा छ,’ उनले भने–‘स्थानीय, प्रदेश र संघीय सरकारले छिटोभन्दा छिटो खानी उत्खनन् गर्ने हो भने आयस्रोत बढ्ने छ ।’ 

विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका छन्त्यालले भने, ‘पहिले बाजेहरुले एउटा घन र छिनाको घरम ठूला–ठूला भिर काटेर खानी उत्खनन् गर्ने गरेका थिए । अहिले नयाँ–नयाँ प्रविधि आइसकेको छ, सरकारले छिटो खानी उत्खनन् गरेर आत्मनिर्भर बन्दै स्थानीय जनताहरुलाई रोजगारी सृजना गरेमा राम्रो हुने थियो ।’

तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाअध्यक्ष कुल बहादुर छन्त्यालले गाउँको चारै तिर तामा उत्खनन् गरिएको खानीहरु रहेकोले गाउँको नाम नै पछि गएर नर्जाखानी भएको बताए ।

तत्कालिन समयमा छन्त्यालहरुले खानीको उत्खनन् गर्ने गरेको र  अन्यले तामाका ढुंगा (धाउ) पगाल्ने र थकालीहरुले तराईबाट खाना ल्याउने र धाउ तयार गरेर बेच्ने गरेको स्थानीयको भनाइ छ । वडाअध्यक्ष छन्त्यालले सिंगो देशको आर्थिक विकास पुराना खानी उत्खनन गरेर गर्न सकिने बताउँदै यसका लागि संघीय सरकारले चासो दिएर खानीहरु तत्काल उत्खनन् गरेमा आफुहरुले साथ दिने बताए ।

‘यहाँ पहिरो जाँदा समेत तामाको धाउहरु निक्लने गरेका छन्,’ वडाअध्यक्ष छन्त्यालले भने, ‘खानी उत्खननको लागि स्थानीय सरकारले मात्र सक्दैन, त्यसैले संघीय सरकारले विशेष चासो दिएमा उत्खनन गर्न सकिने थियो ।’

उनले नर्जाखानीमा धेरै तामाखानी रहेको र एक ठाउँमा टल्कने ढुंगा रहेको बताए । ‘यहाँ टल्कने ढुंगा पनि छ,’ वडाअध्यक्ष छन्त्यालले भने, ‘उक्त ढुंगा पनि खानी नै हो । पहिले पूर्वेलीहरुले बाहिरबाट आएर १५, २० केजी ढुंगा निकालेर लगेका थिए । त्यसपछि उक्त खानी रहेको पत्ता लागेपछि अहिले कसैलाई जान दिएका छैनौं ।’ उनका अनुसार अहिले तामाखानी र टल्कने ढुंगा रहेको क्षेत्रको क्षेत्रफलको बारेमा सर्वेक्षण भइरहेको छ  । 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँपालिका भित्र तामाखानी, फलामखानी र ढुंगाखानी रहेको बताए ।

उनले नर्जाखानीमा पूर्खाहरुले तामा निकालेको अवशेषहरु देखिएकोले त्यहाँको धाउहरु ल्याबमा लगेर परीक्षण गर्ने तयारी गरिएको बताए । उनले ल्याब परीक्षणको रिपोर्ट राम्रो आएमा प्रदेश र संघीय सरकारलाई उत्खनन् गर्नको लागि पहल गर्ने बताए ।

प्रतिक्रिया [1]
User Image

Sushil

[Nov 12, 2020 09:49am]

Sarkar le aayat garne tira dhyan vhanda ni desh kai saman ko sudupayag gari prayog ma lyaune niti lyaune garos.Let promote our product.


प्रतिक्रिया दिनुहोस्