ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शतप्रतिशत हकप्रद विक्री गर्ने तयारीमा रहेको अरुण भ्याली हाइड्रोको नाफा १४१% बढ्यो 

२०७७ कार्तिक, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २७, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ३ करोड २९ लाख २० हजार खुद नाफा गरेको छ । 
यो नाफा गत वर्षको यसै अवधिसम्म रू. १ करोड ३६ लाख ४९ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १४१ प्रतिशत बढी भएको हो । 

कम्पनीले गत वर्षभन्दा यस वर्ष करीब १५ प्रतिशत कम विद्युत विक्रीबाट आम्दानी गरेको छ । गत वर्ष रू. २ करोड ३ लाख ५८ हजार विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ३२ लाख ९१ हजार आम्दानी गरेको हो । विद्युत विक्री आम्दानी घटेपनि अन्य शीर्षकको आम्दानी बढेकाले नाफा बढेको हो ।

गत वर्ष अन्य शीर्षकबाट रू. ६६ लाख ४१ हजार आम्दानी गरेको यस कम्पनीले यो वर्ष रू. ३ करोड ३७ लाख ६१ हजार आम्दानी गरेको हो । 

७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढेर रू. ९९ करोड ८३ लाख २३ हजार पुगेको छ । यस कम्पनीले यहि पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गर्न असोज २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रू. ११ करोड १८ लाख ४८ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम २२ दशमलव ५२ प्रतिशत बढी कायम भएको हो । यो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १९ र प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव २० रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्