ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवनका सबै इट्टा उद्योग बन्द

२०७७ कार्तिक, २७  
वाग्मती प्रदेश
Image Not Found

कात्तिक २७, चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि चितवन जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । 

मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग सञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।

इट्टा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिए । ‘चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन’  उनले भने, ‘तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।’ 

उनका अनुसार जिल्लामा १८ ओटा इट्टा उद्योग छन् । देशभरमा यो संख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उनको भनाइ छ ।  

गत वर्ष सबै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदूर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्नेलगायत काम नहुने भएपछि उद्योग बन्द गरिएको हो । जिल्लाका साना एक दुई ओटा उद्योग सञ्चालन हुन सक्ने भए पनि अन्य सबै उद्योग बन्द हुने सापकोटाको भनाइ छ ।  

गत वर्षपनि मंसिर महीनादेखि फागुनसम्म पटकपटक वर्षा हुँदा बनाएको इट्टा गलेर नोक्सान भएको थियो । दुई वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था नरहेको जिल्ला अध्यक्षसमेत रहेका सापकोटाले बताए । 

ठूलो संख्यामा मजदूर आवश्यक पर्ने भएकाले भौतिक दूरी कायम गरेर काम गर्न सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । सापकोटाले भने, ‘एक जना मजदूरलाई कोरोना संक्रमण भएमा सबै जोखिममा हुन्छन् । यो जोखिम मोल्न नसकेर नै उद्योग खोल्न नसकेका हौं ।’ एउटै इट्टा भट्टामा तीन सयसम्म मजदूरलाई काम लगाउने गरिन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्