ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बन्दाबन्दीको हल्ला

२०७७ कार्तिक, २८  
पाठक विचार
NA

सरकारले तिहार र छठपछि फेरि बन्दाबन्दी गर्ने तयारी गरेको हल्ला चलेको छ । कोरानाबाट संक्रमित हुनेको संख्या नघटेको तथा जाडो याममा यसको संक्रमण झनै बढ्ने आकलन गरिएको छ । काठमाडौं उपत्यका अहिले सर्वाधिक जोखिमयुक्त क्षेत्र बनेको छ । त्यसैले काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूले तिहार र छठपछि बन्दाबन्दी गरेर कोरोना नियन्त्रण गर्न माग गरेका छन् । फेरि बन्दाबन्दी गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न सुझाव दिएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर तिहार र छठपछि कोरोना नियन्त्रणमा ब्रेक गर्ने निष्कर्ष निकालिएको समाचार आएको छ । तर, सरकारले जे गर्ने भने पनि कोरोनाको रोकथामका लागि प्रभावकारी काम गर्न सकेको छैन । प्रचारका लागि आइसोलेशन कक्ष, भेन्टिलेटरसहितको कोभिड अस्पतालजस्ता प्रचार गरिए पनि वास्तविकता उल्टो छ । कोरोना संक्रमित मात्र होइन, सामान्य बिरामीले पनि अहिले अस्पतालमा उपचार पाउन कठिन भएको छ ।

तिहारको समयमा असावधानी अपनाई बजारमा खरीद गर्ने हिँड्नेको भीड नै देखिन्छ । व्यापारीहरूले पनि सचेतता अपनाएको कमै देखिन्न । यस्तोमा जनसमुदायलाई सचेत गराएर कोरोना नियन्त्रणमा ल्याउन कठिन देखिँदै छ । पढेलेखेका र जानबुझेका मानिसहरूबाटै लापर्बाही भइरहेको छ । जबसम्म भ्याक्सिन बन्दैन तबसम्म कोरोना नियन्त्रण हुन गाह्रो छ । भ्याक्सिन बने पनि नेपालले ल्याउन त्यति सहज छैन । स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण बढिरहेको अवस्थामा बन्दाबन्दी नै सहज भएको निष्कर्ष सरकारी अधिकारी र राजनीतिक नेतृत्वको पाइन्छ । तर, बन्दाबन्दीबाट जनताले सास्ती मात्रै पाएका छन् । सरकारले चेन ब्रेक हुन्छ भन्ने आशा गर्नेभन्दा बढी ठोस काम गरेको पाइएको छैन । यस्तोमा पुनः बन्दाबन्दीको कुरा उठाउनु उपयक्त देखिँदैन ।

रमेश महर्जन
कालीमाटी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्