ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महासंघ चुनाव : सहमतिको प्रयास विफल

चुनावी अभियानमा ढकाल पश्चिमबाट पूर्व, प्रधान पूर्वबाट पश्चिमतर्फ

२०७७ कार्तिक, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका निजीक्षेत्रका उद्यमी तथा व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को चुनाव नजिकिँदै गएपछि उद्योगी व्यवसायीबीच सहमति जुटाउने प्रयास बढेकोमा उक्त प्रयास विफल भएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानले प्यानल खडा गरी चुनाव लड्ने तयारी गरेपछि शुरूदेखि नै सहमतिका लागि महासंघको नेतृत्व सक्रिय भए पनि प्रयास सफल हुन सकेको छैन ।

गतवर्ष चैत अन्तिममा महासंघले साधारणसभा गरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम राखेको थियो । महासंघको विधानअनुसार उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार गोल्छा अध्यक्ष बन्ने पक्का छ । तर, वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानले उम्मेदवारी दिने तयारी गरेपछि नै दुई जनाबीच सहमति जुटाउने प्रयास गरिएकोमा दुवै जनाले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने अडान लिएका थिए । विषम परिस्थितिका कारण चैत ६ गते महासंघले जेठ ७ गतेसम्मका लागि साधारणसभा स्थगन गर्ने निर्णय गरेको थियो । सरकारले चैत दोस्रो सातादेखि देशव्यापी बन्दाबन्दी गरेपछि सेलाएको महासंघको साधारणसभाको तयारी असारमा बन्दाबन्दी खुकुलो भएपछि पुनः शुरू गरिएको थियो । साधारणसभा गर्ने निर्णयपछि असारमा ५ पूर्वअध्यक्षले छुट्टै समिति नै बनाएर प्रधान र ढकालबीच सहमति जुटाउने प्रयास गरेका थिए । तर, दुवै पक्षको वरिष्ठ उपाध्यक्ष पद नछाड्ने अडानका कारण पूर्वअध्यक्षहरूले समेत सहमति जुटाउन सकेका छैनन् ।

महासंघको सरकारसँग अनुमति लिई मङ्सिर ११/१२ मा साधारणसभा र १३ मा चुनाव गर्ने निर्णयपछि दुवै पक्ष चुनावको प्रचारप्रसारमा जुटेका थिए । अघिल्लो सातादेखि भावी अध्यक्ष गोल्छाले सहमतिका लागि बनेको पूर्वअध्यक्षहरूको समितिलाई सक्रिय बनाउँदै दुई पक्षबीच सहमतिका लागि प्रयास गरेकोमा दुवै पक्षले वरिष्ठ उपाध्यक्ष पद नछाड्ने दाबी गरेपछि सहमतिको प्रयास विफल बनेको हो ।

चुनाव नजिकिँदै गएपछि प्रधान र ढकाल प्यानल चुनावी अभियानका लागि देश दौडाहामा निस्किएका छन् । ढकाल प्यानल आफ्नो बलियो पकड रहेको काठमाडौं पश्चिमका जिल्लामा चुनावी अभियान सकेर बिहीवार मात्रै चुनावी अभियानका लागि पूर्वका जिल्ला भ्रमणमा निस्किएको छ । पश्चिमका अधिकांश व्यवसायीले ढकाललाई साथ दिने प्रतिबद्धता गरेका ढकाल पक्षको दाबी छ । यसैगरी पूर्वका जिल्लामा बलियो पकड बनाएका प्रधान शुरूमा आफ्नो पकड क्षेत्रमा चुनावी अभियान सकेर बुधवारदेखि पश्चिमका जिल्लामा भोट माग्न निस्किएका छन् । बुधवार महेन्द्रनगरमा चुनावी कार्यक्रम सम्पन्न गरेका प्रधानले आफूलाई सुदूरपश्चिमका नौओटै जिल्ला अध्यक्षले साथ दिने प्रतिबद्धता व्यक्त गरेको दाबी गरेका छन् ।

महासंघको नेतृत्वका लागि प्रधान प्यानलबाट वस्तुगततर्फबाट अञ्जन श्रेष्ठ, जिल्लानगर तर्फबाट दिनेश श्रेष्ठ र एशोसिएट तर्फबाट सौरभ ज्योति तथा ढकाल प्यानलबाट वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एशोसिएटतर्फ रामचन्द्र संघाई चुनाव लड्दै छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्