ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुटवल सोलार प्लान्टबाट व्यावसायिक उत्पादन शुरू

दैनिक प्रतिघण्टा ४० हजार किलोवाट विद्युत् उत्पादन

२०७७ कार्तिक, २८  
प्रदेश ०५
NA

काठमाडौं (अस) । रूपन्देहीमा हालै निर्माण सम्पन्न भएको बुटवल सौर्य विद्युत् आयोजनाले व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू गरेको छ । परीक्षण उत्पादन सफल भएपछि आयोजनाले गत कात्तिक १४ गतेदेखि नै व्यावसायिक उत्पादन शुरू गरेको हो ।

प्रवर्द्धक कम्पनी रिडी हाइड्रो पावर र नेपाल विद्युत् प्राधिकरणबीचको समन्वय समितिको बैठक सम्पन्न भएपछि सो मितिदेखि लागू हुनेगरी व्यावसायिक उत्पादनको मान्यता दिइएको छ । परीक्षण उत्पादन शुरू भएपछि अहिले व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू गरिएको रिडी हाइड्रोपावर कम्पनीका सञ्चालक गुरुप्रसाद न्यौपानेले जानकारी दिए ।

कम्पनीले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा साढे ८ मेगावाटको उक्त सोलार प्लान्ट निर्माण गरेको थियो । आयोजनाले गत असोज २८ गतेदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गरेको थियो । त्यो परीक्षण उत्पादन शुरू भएपछि व्यावसायिक रूपमै उत्पादन शुरू गरिएको हो ।

कम्पनीले गतवर्षको असोजदेखि त्यस आयोजनाको निर्माण शुरू गरेको थियो । आयोजनाबाट गत वैशाखदेखि नै विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीले त्यो लक्ष्य पूरा सकेको थिएन । पछि बन्दाबन्दी खुलेपछि आयोजनाको निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन शुरू गरिएको हो ।

उक्त आयोजनाबाट दिउँसो घाम लागेको समयमा मात्र विद्युत् उत्पादन गर्न सकिन्छ । त्यस समयमा अहिले उक्त आयोजनाका दैनिक ४० हजार किलावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ । उक्त विद्युत्लाई प्राधिकरणको अमुवा सबस्टेसनमा जोडिएको छ ।

कम्पनीले प्राधिकरणसँग प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा विद्युत् खरीद सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नै अहिले प्रवद्र्धक कम्पनीले प्राधिकरणलाई विद्युत् विक्री गर्दै आएको छ । प्राधिकरणले भने उक्त विद्युत्लाई विशेषगरी लुम्बिनीको औद्योगिक क्षेत्र, भैरहवा र बुटवलमै सप्लाई गर्दै आएको छ । यस्तै, प्राधिकरणले उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् मापन गर्न सबस्टेशनमा मेन मिटर र चेक मिटर पनि राखिएको छ । साथै, उक्त विद्युत् रूपन्देही क्षेत्रमै खपत हुने हुँदा प्राविधिक विद्युत् लस पनि कम हुने अपेक्षा गरिएको छ ।

कम्पनीको सञ्चालक न्यौपानेले उक्त सोलार प्लान्ट शुरू भएपछि भैरहवा, लुम्बिनी र बुटवल क्षेत्रका भोल्टेजमा सुधार आएको बताए । अहिले पूरा भोल्टेजमै त्यस क्षेत्रमा विद्युत् आपूर्ति हुने गरेको उनको भनाइ छ । विशेषगरी लुम्बिनीतर्फका औद्योगिक क्षेत्रको भोल्टेजमा सुधार आएको पाइएको उनले बताए ।

अहिले रूपन्देही क्षेत्रमा १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाबाट आपूर्ति गरिँदै आएको छ । कालीगण्डकी १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट त्यस क्षेत्रमा विद्युत् पु¥याइएको छ । अब दिउँसको समयमा सोलार पलान्टबाट विद्युत् उत्पादन भएपछि उक्त कालीगण्डकी आयोजनाको विद्युत् उत्पादन घटाएर पानी संकलन गरेर राख्न सकिने पनि बताइएको छ । त्यो पानी अन्य कुनै समयमा प्रयोग गरेर  विद्युत् निकाल्न सकिने न्यौपानेले बताए ।

यस्तै, न्यौपानेले अब लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्रमा सोलार प्लान्ट सञ्चालन गर्ने योजना रहेको बताए । ‘हामी भालुभाङमा पनि सोलार पलान्ट सञ्चालन गर्ने योजनामा छौं । यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न आवश्यक छ,’ उनले बताए । कम्पनीले स्थानीय मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयको २६ बिगाहा जग्गा ३० वर्षका लागि भाडामा लिएर उक्त पलान्ट बनाएको हो । त्यसमा ३१ हजार २८८ ओटा प्यानल जडान गरिएको छ । प्रतिप्यानल ३३० वाट विद्युत् उत्पादन
हुने गर्छ ।

कम्पनीले उक्त आयोजनाको निर्माणमा ७१ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । पहिला यसमा रू. ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, कोरोना महामारीका कारण अनुमानित भन्दा बढी लागत लागेको कम्पनीको भनाइ छ ।

यस्तै, आयोजनाको सौर्य प्यानलमुनि बेसारखेती गर्ने पनि कम्पनीको योजना छ । साथै, घाँस उपयोग गरी बाख्रा तथा खसीबोका पालन गरिने कम्पनीले बताएको छ । कम्पनीले चालू आवमै २५० टन बेसार उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्