ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्थानीय तहमा धमाधम निर्माण हुँदै अस्थायी कोभिड अस्पताल

२०७७ कार्तिक, २८  
कर्णाली प्रदेश
NA

जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल निर्माण सुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बताए ।

तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने, ‘गाउँपालिका–५ मा सो अस्पताल स्थापना गरी दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कर्मचारी भर्ना गरिसकेका छौं ।’

कोभिड अस्पतालका लागि विज्ञापन गर्दासमेत मेडिकल अधिकृतको आवेदन कसैको नपरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्लाको हिमा, तिला, कनकासुन्दरी, सिंजा र गुठीचौर गाउँपालिकाले कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनको तयारीमा जुटेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । संघीय सरकारको रु. १० लाख बजेटबाट औषधी, औजारलगायत सामान खरिद गरिँदै जाने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

अस्थायी कोभिड अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगीको आवेदन परेको र डाक्टरको दुई पटकसमेत विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले जानकारी दिए ।

कोभिड अस्पताल सञ्चालका लागि एमबीबीएस डाक्टरको आवेदन कसैको नपरेको यहाँका स्थानीय तहले जनाएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्