ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुदूरपश्चिममा कोरोना मृत्यु दर बढ्दै

२०७७ कार्तिक, २८  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी । कतिपय प्रदेशको तुलनामा कोरोना संक्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार गएको १० दिनमा प्रदेशमा ६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष संक्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । होम आइसोलेसनमै मृत्यु हुने कतिपय संक्रमितको तथ्यांक भने मन्त्रालयसँग छैन ।

जाडोयाम सुरु भएसँगै जटिल अवस्थाका कोरोना संक्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म प्रदेशमा कुल संक्रमणको पुष्टि भएका १० हजार २ सय ६९ जनामध्ये ८ हजार ७०८ जना उपचारपछि घर फर्केका छन् । बिहीबार कोरोनाका शंकास्पद १ लाख ११ हजार २ सय ७ व्यक्तिको पिसीआर पद्धतिबाट नमुना जाँच भइसकेको छ । बिरामी बढ्दै गएपछि प्रदेश सरकारले कोभिड अस्थायी अस्पताल धनगढीमा थप शैयाको व्यवस्थापनको तयारी गरिरहेको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोभिड अस्थायी अस्पतालमा थप शैया थप्ने काम अघि बढेको बताए । सो अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० शैयाको व्यवस्था गरिएकामा पछिल्ला दिनमा पूरै शैया भरिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । प्रदेशका अन्य जिल्लामा रहेका अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटरको व्यवस्था पर्याप्त नहुँदा जटिल अवस्थाका कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा सिफारिस गर्ने गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थी चिसो मौसममा कोरोना संक्रमणदर गर्मी मौसममा भन्दा बढ्न सक्ने जोखिम रहेको बताउँछन्  । ‘चिसो बढ्ने भएकाले कोभिड–१९ जस्तो लक्षण बढी व्यक्तिमा देखिन सक्छ’, उनले भने, ‘लक्षण देखिएपछि एक साता आफ्नै घरको छुट्टै कोठा वा आइसोलेसनमा बसेर एक सातापछि मात्र नमुना परीक्षण गराउनुपर्छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्