ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन

सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना घरधनी आफैले भत्काउन थाले

२०७७ कार्तिक, २८  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाले कार्यान्वयनमा ल्याउने गरी सडक स्तरोन्नतिको काम शुरू भएको छ । उपमहानगरपालिकाभित्र सडक विस्तारमा स्थानीयले आवश्यक सहयोग गर्न थालेपछि निर्माण अघि बढेको हो । सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना घरधनी आफैले भत्काउन थालेका छन् ।

उपमहानगरभित्र सडक फराकिला बनाउन सम्बन्धित घरधनीले सडक क्षेत्राधिकारभित्र पर्ने पर्खाल, घरटहरा भत्काउन थालेपछि काम गर्न सहज भएको धनगढी उपमहानगरपालिकाले बताएको छ । केही दिनअघि मात्र धनगढी उपमहानगरपालिका–२ का ९ र वडा नं ५ का चारजना घरधनीले संरचना भत्काउन शुरू गरेका छन् । वडा नं २ मा निर्माण भइरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड–चटकपुर सडक १६ मिटर फराकिलो बनाइँदै छ । नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, उपमहानगरका डिभिजनल इन्जिनियरको उपस्थितिमै सडक क्षेत्र छुट्ट्याउने काममा यहाँका घरधनीले सहयोग गरेका थिए ।

घरधनी आफैले भौतिकसंरचना भत्काउने औजार लिएरसंरचना भत्काउन थालेको नगरप्रमुख वडले बताए ।

नगरवासीले सडक विस्तारका लागि गरेको सहयोगले क्षेत्रीय शहरी विकास आयोजना निर्धारित मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । ‘स्थानीयको सहयोगविना कुनै पनि ठाउँको विकास गर्न सकिँदैन,’ उनले भने । उपमहानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई ‘आदर्श नगरवासी’को रूपमा सम्मान गर्ने, भत्काएको भागको नक्सापासमा कर छूट गर्ने, सोही भागमा रङरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

धनगढी उप–महानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले धनगढीवासी विकासका लागि हातेमालो गर्छन् भन्ने सन्देश मिलेको बताइन् । यस्तै सहयोग भए दोस्रो चरणका सडकहरू पनि छिट्टै सम्पन्न हुने उनको भनाइ छ ।

सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्ड आफै भत्काएर सहयोग गरेका सुदूरपश्चिम एकेडेमीका सञ्चालक सुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस् भनेर आफैले संरचना भत्काउन शुरू गरेको बताए । ‘सडक नगरवासीका लागि बन्दै छ,’ उनले भने, ‘त्यसैले सडक क्षेत्राधिकारमा संरचना पर्ने घरधनीलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’ नगर समृद्ध हुन नगरवासीको सहयोग आवश्यक रहने पनि उनले बताए । धनगढी उपमहानगरपालिका–५ तारानगरका गम्भीरसिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने बताए । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत यो सडक १६ मिटरको बन्दै छ,’ उनले भने, ‘थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले पक्की घर आफै भत्काउन शुरू गरेको छु ।’ क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ ओटा सडक निर्माण हुनेगरी २०७७ असार २८ गते सम्झौता भएको उपमहानगरपालिकाका डिभिजन इन्जिनियर द्विजराज भट्टले बताए । ‘गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि–कैलाली नाला (१ हजार ३८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७०० मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६५० मिटर), धनगढी–खुटिया स्याउले रोड (८७० मिटर), मालपोत रोड (४३० मिटर र हसनपुर रोड (१ हजार १५० मिटर) रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्