ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुई पालिका जोड्ने पक्की पुल निर्माण शुरू

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

दमौली । तनहुँका दुई पालिका जोड्न बरखोलामा पक्की पुल निर्माण शुरू भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा पक्की पुल निर्माण शुरू भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत रू. ३ करोड ९८ लाख ६३ हजार २७७ को लागतमा पक्की पुल निर्माण शुरू भएको हो । उक्त पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीवार शिलान्यास गरेका छन् । उक्त अवसरमा मन्त्री गुरुङले आवश्यक स्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताए । सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्ने बताउँदै मन्त्री गुरुङले सिँचाइका आयोजना, एक घर एक धारा खानेपानीको कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पु¥याउने कार्यक्रम प्राथमिकता साथ अगाडि बढाएको जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गरिन् । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसन गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताए । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले दुई स्थानीय तहलाई जोड्ने पुललाई मितेरी पुलको रूपमा विकास गर्नुपर्ने बताए ।

मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले पुल निर्माणको ठेक्का पाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगानाका अनुसार पुल ३२ दशमलव ४ मिटर लामो हुनेछ । २०७८ असार २२ गतेसम्म पुल निर्माण सम्पन्न हुनेछ । नदीले वर्षामा अत्यधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न एक हजार ३०० घनमिटर ग्याबिन भरिने उनले जानकारी दिए ।

दुई पालिका जोड्ने पक्की पुल निर्माण शुरू भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षाको बेला बालबालिका विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्दा समस्या हुने गरेको थियो । पुल बनेपछि अब राहत मिल्ने स्थानीय बुजोसत्त महतले बताए । ‘खोला तर्न बनाएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको छ,’ उनले भने, ‘खोला उर्लिंदा सवारीसाधन चल्दैन । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउला भन्दैमा दिन बित्छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्