ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाँकेमा आकर्षक फनपार्क सञ्चालनमा

२०७७ कार्तिक, २८  
प्रदेश ०५
NA

राँझा । बाँकेको कोहलपुरमा आकर्षक फनपार्क सञ्चालनमा आएको छ । कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा रू. ३५ करोड लागतमा निर्माण गरिएको ह्याप्पी वल्र्ड फनपार्क सोमवारदेखि सञ्चालनमा आएको हो ।

कोरोना भाइरस संक्रमण जोखिमका बीच स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर फनपार्क सञ्चालनमा ल्याइएको ह्याप्पी वल्र्ड फनपार्कका सञ्चालक वासु भण्डारीले जानकारी दिए । उनका अनुसार फनपार्कमा स्काई साइक्लिङ, जिपप्ले, बुल राइड, जाइन्ट सिरिङ, वाल क्लाम्बिङ र बालबालिकाका लागि बञ्जीलगायत अन्य सुविधा समेत उपलब्ध गराइएको छ ।

त्यस्तै फनपार्कमा वाटर फन, रेष्टुराँ, ब्याङ्क्वेट र स्वीमिङ पुललगायत सुविधा उपलब्ध रहेको पनि उनले बताए ।    नेपालगञ्ज–कोहलपुर सडकसँग जोडिएको हवल्दारपुरस्थित साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको यो फनपार्क सञ्चालनमा ल्याएपछि दर्शकको उत्साहजनक उपस्थिति भइरहेको सञ्चालक भण्डारीको भनाइ छ ।

नेपालगञ्जकै भवनीयापुरस्थित बालेगाउँमा नेपालमै पहिलो स्काई साइक्लिङ सुविधा भएको मेरो प्लानेट पार्क सञ्चालनमा आएको छ । स्काई साइक्लिङसँगै वाल क्लाइम्बिङ, जिप लाइन, स्वीमिङ, रेइन डान्सजस्ता साहसिक खेलको प्याकेजसहितको सुविधा विस्तार गरेर मेरो प्लानेट पार्क सञ्चालनमा आएको सञ्चालक पशुपतिदयाल मिश्राले बताए । उनका अनुसार, मेरो प्लानेट पार्कमा ४ स्वीमिङ पुलमा एकपटकमा २ हजार ५०० जनाले वाटर फनको आनन्द लिन सक्नेछन् ।

गर्मीमा पौडी खेल्दै रमाउने उपाय खोजिरहेका नेपालगञ्ज क्षेत्रका बासिन्दालाई लक्षित गरेर ठूलो लगानीमा वाटर फन पार्कसहित सुविधासम्पन्न मनोरञ्जनस्थल सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोट हुँदै भारतीय पर्यटक कैलाश मानसरोवरको यात्रामा निस्किएका भारतीय पर्यटकलाई लक्षित गरेर मनोरञ्जन पार्क निर्माण गरिएको जानकारी दिँदै सञ्चालक मिश्राले भने, ‘कोरोना महामारीका कारण अहिलेको कठिन समय हटेसँगै व्यापार व्यवसाय फस्टाउने आशामा हामी छौं ।’ नेपालगञ्ज उपमहानगरपालिका–२० मा पनि एउटा फनपार्क निर्माणका क्रममा रहेको छ । बाँकेमा पछिल्लो समय सञ्चालनमा आएका फनपार्कले मनोरञ्जनका साथै रोजगारीका लागि युवालाई अवसर सृजना गरी पर्यटन विकासमा सहयोग पु¥याएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्