ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सेतीखोलामा पुल निर्माण शुरू

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
NA

पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा पर्ने सेतीखोलामा मोटरेबल पुल निर्माण शुरुआत भएको छ । स्थानीय गल्छिना घाटमा निर्माण हुने सो पुलको काम यसै सातादेखि शुरू भएको हो । यसका लागि रू. ४ करोड १४ लाख ५५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता भएको छ ।

२०७७ जेठ ४ गते सम्झौता भए पनि झण्डै पाँच महीनापछि शुरू भएको छ । पुल २०७८ मङ्सिर ४ गतेसम्म सम्पन्न गर्नुपर्ने अवधि रहेको छ । सिंगल स्पानको उक्त मोटरेबल पुलका लम्बाइ ३५ मिटर रहेको छ ।

पुलको भारवहन क्षमता ८० टन रहेको सडक डिभिजन कार्यालय बागलुङले बताएको छ । उक्त सडक निर्माणको जिम्मा जयनेपाल ईश्वर श्री सिद्धबाबा जेभीले लिएको छ । पैंयु गाउँपालिकाको केन्द्र रहेको हुवासस्थित हातेमालो चोक जोड्न सडक खुलेको झण्डै डेढ दशक पुगे पनि खोलामा पुल नहुँदा यो सडक हुँदै दैनिक चल्ने दर्जनौं साना ठूला सवारीसाधन खोलामा जोखिमपूर्ण रूपमा वारपार गर्ने गरेका थिए ।

गाउँपालिकाकै छिमेकी वडाहरू धरमपानी, बेउलीवास, उराम र महाशीला गाउँपालिकाको होश्राङ्दी, भोक्सिङ, बालाकोट लगायत क्षेत्र जोड्ने उक्त सडकमा पुल नहुँदा वर्षायाममा सवारीसाधन ठप्प हुने गरेका थिए । हिउँदमा खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेको पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार पुल बनेपछि पैंयु गाउँपालिका र छिमेकी पालिकाका विभिन्न वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् । वर्षा र हिउँदयाम बाह्रैमास सवारीसाधन सञ्चालन गर्न सहज हुनेछ ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुलको शिलान्यास गर्दै समयमै र तोकिएको गुणस्तर काम गरेर निर्माण गर्न आग्रह गरे । मुलुक अहिले विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेका बेला कोरोना भाइरसले तीनै तहका सरकारलाई धक्का पु¥याएको र अब कोभिडसँगै विकास निर्माणलाई पनि अघि बढाउनुपर्ने उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्