ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाह्रबीसे–भैरवकुण्ड सडक निर्माण कछुवा गतिमा

२०७७ कार्तिक, २८  
वाग्मती प्रदेश
NA

चौतारा । सिन्धुपाल्चोकको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रलाई दृष्टिगत गरी निर्माण शुरू गरिएको बाह्रबिसे भैरवकुण्ड सडकको काममा ढिलाइ भएको छ । २ वर्षभित्र सम्पन्न गर्नेगरी नेपाल आदर्श निर्माण कम्पनी प्रालिले ठेक्का पाएको उक्त सडक ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्धारित समयभित्र सम्पन्न हुन नसकी ढिलाइ हुन पुगेको हो ।

बाह्रविसेको राम्चे–मानेश्वरा–घुम्थाङ हुँदै लिस्तीको भैरवकुण्ड पुग्ने उक्त सडक स्थानीय पूर्वाधार विभागको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) कार्यक्रम अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ऋण रू. २८ करोडमा २ वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१८ मा ठेक्का सम्झौता भएको थियो । प्रथम चरण अन्तर्गत बाह्रविसे नगरपालिका–९ राम्चे स्थिति बाह्रबिसे बजारदेखि वडा नं. ८ मानेश्वाँरा हुँदै वडा नं. ७ को घुम्थाङ स्थित कोलबारी डाँडासम्म १२ किलोमिटर सडक निर्माण गर्ने ठेकेदार कम्पनीले म्याद गुज्रिसक्दा पनि हालसम्म १० किलोमिटरको मात्र ट्र्याक खोलेको छ । कालोपत्र सहितको उक्त सडक नाली समेत ६ दशमलव २५ मिटर चौडाइको हुनेछ ।

बाढी पहिरोका कारण काम गर्न समस्या भएकोले अबको सात–आठ महीनाभित्र सम्पन्न गर्नेगरी म्याद थप भएको कम्पनीका इञ्जिनियर मिलन केसीले बताए । गएको असार २४ गते राति बाह्रविसेको जम्बु र खागदलमा आएको बाढीले केही सडकलाई क्षति पु¥याए पनि सम्झौता भएलगत्तै काम शुरू गरिएको भए तत्कालीन अवस्थामा त्यस क्षेत्रमा कहीँकतै बाढी पहिरो नगएकोले ठेकेदार कम्पनीको बहाना मात्र भएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । सडक निर्माण गर्ने ठाउँ ठाउँमा ठाडो खोल्साहरू भएकाले पुल पुलेसा राख्न योजनामा उल्लेख नभएकोले त्यत्तिकै छाडिने र अन्य कामको थपघट गर्न भेरिएसन आदेशको (अर्डर) लागि प्रक्रिया शुरू भइरहेको इञ्जिनीयर केसीले बताए ।    

भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित भैरवकुण्ड पुग्न पालिकाले चार वर्षअघि नै डाकलाङ देखि चोकरमोकरसम्मको ४५ किलोमिटर सडक निर्माण गरिसकेको छ । अहिले यातायात समेत सञ्चालन हुँदै आएको छ ।

निर्माण भइरहेको बाह्रविसे–भैरवकुण्ड सडकले दुईओटा पालिकालाई समेट्छ भने त्यसलाई विस्तार गरिएमा घुम्थाङदेखि लिस्तीको घिप्चे हुँदै छगाम बगाम जोड्न करिब २५ किलोमिटर पर्ने हुँदा पालिकाले बनाएको सडकमा जोडिन पुग्दछ । यसबाट दूरी कम हुनाका साथै आर्थिक भार समेत कम हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्