ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

२०७७ कार्तिक, २८  
प्रदेश ०१
NA

इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन÷अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो ।     

‘भदौसम्म पानी परे पनि नयाँ सिजनमा राम्रो भएकाले उत्पादन बढ्यो,’ सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवालले भने, ‘उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।’ उनका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ । कटुवालले यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताए । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टंक दाहालले बताए । गएका वर्षमा पानीले असर पारेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएको उनको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो । यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तरराष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरू हुन्छ । मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधानले बताए । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महीनापछि मात्र चिया टिप्ने गरिन्छ ।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म बढी पाउन थालेपछि चियाखेतीले किसानमा पुनः आशा जगाएको छ । प्रायः अन्य सिजनमा हरियोपत्ती चियाको प्रतिकिलो रू. ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर ५० पुर्‍याएपछि किसान उत्साहित छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्