ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

२०७७ कार्तिक, २८  
समाचार
NA

काठमाडौं । स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक अध्ययनको मञ्चका रूपमा यो पोर्टल सञ्चालित भएको हो ।

हाल अष्ट्रेलियमा रहेका शिक्षाकर्मीद्वारा सञ्चालत सो वेबसाइटको बिहीवार त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भर्चुअल रूपमा शुभारम्भ गरे । उक्त पोर्टलमा विश्वभरका विश्वविद्यालय र त्यहाँ अध्ययन हुने विषयबारे एकीकृत सूचना प्राप्त हुनेछ । यसमा नेपालका सबै विश्वविद्यालयका ६०० विषयसमेत समावेश गरिएको पोर्टलका संस्थापक टीएन अर्यालले जानकारी दिए । एक वर्ष लगाएर २० जना जनशक्तिले तयार गरेको यस प्रकारको पहिलो पोर्टलमा विद्यार्थीले उच्चशिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोवास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसरलगायत महत्त्वपूर्ण जानकारी समावेश छ ।

शिक्षाविद् माथेमाले विद्यार्थीले राम्रा प्राध्यापक, विश्वविद्यालयको वातावरण र शुल्कसमेत बुझेर भर्ना गर्ने भएकाले उनीहरूलाई एकीकृत र सही सूचना दिनु आवश्यक रहेको बताए । उनले नेपालको शिक्षाका राम्रा पक्षलाई पनि अन्तरराष्ट्रियकरण गराउन आग्रह गरे ।     

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयबीचको सहकार्य र सूचना आदान प्रदानमा वेबसाइट नयाँ पहल हुने विश्वास व्यक्त गरे । त्रिविका पूर्वउपकुलपतिहरू डा. कमलकृष्ण जोशी र त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले उच्चशिक्षाका क्षेत्रमा सूचनाको पहुँच वृद्धिका लागि नयाँ काम थालनी भएकामा शुभेच्छ व्यक्त गरे । उच्च माध्यमिक तथा शिक्षालय संघ (हिसान)का अध्यक्ष रमेश सिलवालले नेपाली विद्यार्थीलाई विदेश पढ्न पठाउनेका साथै विदेशी विद्यार्थी नेपाली विश्वविद्यालयमा पनि ल्याउने गरी काम गर्नुपर्ने बताए । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसीले कोभिड–१९ पछि बेरोजगारीको स्थितिमा विद्यार्थी र रोजगारी खोजिरहेका युवाका लागि नयाँ पोर्टल उपयुक्त हुने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्