ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैतडीमा इलाका प्रशासनको सेवा ३ महीनादेखि बन्द

२०७७ कार्तिक, २८  
सुदूरपश्चिम प्रदेश
Image Not Found


बैतडी । बैतडीको पुर्चौडी नगरपालिका हाटमा रहेको इलाका प्रशासन कार्यालयको सेवा तीन महीनादेखि बन्द रहेको छ । गएको भदौदेखि कर्मचारी अभाव हुँदा इलाका प्रशासनका सम्पूर्ण सेवा बन्द रहेको हो । गत भदौमा निमित्त कार्यालय प्रमुखको सरुवा भएदेखि सम्पूर्ण सेवा रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । हाल हाटस्थित इलाका प्रशासन कार्यालयमा दुईजना मात्रै कर्मचारी रहेका छन् । एक नायबसुब्बा र एक कार्यालय सहयोगी मात्रै कार्यरत रहेका छन् ।

उक्त कार्यालयमा एक शाखा अधिकृत, दुई नायब सुब्बा, एक सहलेखापाल, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले बताएको छ । जानकारीविनै निमित्त प्रमुखको सरुवा गरेपछि सेवा दिन नसकिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । ‘प्रमुख नहुँदा निमित्तको भरमा सञ्चालनमा रहेको इलाका प्रशासनमा निमित्तको पनि सरुवा गरिँदा समस्या भएको छ,’ उनले भने । कर्मचारी नहुँदा सेवा लिन नसकिएको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए । ‘नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीवासीले सदरमुकाम धाउनुपरेको छ ।’ दुर्गम क्षेत्रका नागरिकलाई गाउँघरमै सेवा दिने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौडीका नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायत कामका लागि फेरि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भएको छ ।

इलाका प्रशासन कार्यालयमा गएको तीन महीनायता शाखा अधिकृत नहुँदा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिश लगायत सबै काम रोकिएका जिल्ला प्रशासन कार्यालय बैतडीले बताएको छ । २०७३ मा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारीको अभावले सेवा प्रभावित हुँदै आएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भर्ना खुलेकाले जिल्ला प्रशासनमा हाल नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या बढ्दै गएको छ । इलाका प्रशासन कार्यालयमा कर्मचारीको पदपूर्तिका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कर्मचारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । ‘इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृह मन्त्रालयमा पत्राचार गरिसकेका छौं । तर अहिलेसम्म कर्मचारी पठाइएको छैन ।’ साविकका एक दर्जन गाविसका झण्डै ६० हजार नागरिकका लागि २०७३ मा पुर्चौडीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्