ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ढकमक्क फूलले सजिए धनकुटेली गाउँघर

२०७७ कार्तिक, २८  
प्रदेश ०१
Image Not Found
author avatar ईश्वर थापा

धनकुटा । तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहारको सँघारमै धनकुटाका गाउँघर ढकमक्क फूलले सजिएपछि मनमोहक देखिएका छन् । दसैंलगत्तै फुलेका फूलले गाउँघर ढकमक्क भएका थिए । फूल फुलेर गाउँसहर नै बेहुलीझैं शृंगारिएका छन् । पञ्चांगअनुसार कहिले अघि त कहिले पछि तिहार आउने गरेको छ ।

त्यसकारण कहिले फूल नफुल्दै तिहार आउँछ भने कहिले फूल फक्रिइसकेपछि । यो वर्ष भने विगतका वर्षभन्दा केही ढिलो मात्र तिहार आएको छ ।

तिहारमा चाहिने सयपत्री फूलको महिमा बखान गरिसाध्य छैन । घरघरका फूलबारी, बारीका कान्ला, खेतका आली, घरको आँगन, डिलमा फूल फुलेर रातै पहेंलै भएका छन् । यो वर्षको तिहार केही ढिलो भएका कारण कतै कतै फुलहरू सुक्न पनि थालेका छन् ।

लक्ष्मीपूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल शृंगार्न फूलको माग उच्च हुने गर्छ । यस्तै भाइटीकाका दिन दिदीबहीनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर गलाभरिको सयपत्री र मखमलीको माला लगाइदिनुको पनि छुट्टै महत्व छ ।

तिहारमा पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपटक पनि लाखौं मूल्यको फूल बिक्री गरिरहेका छन् । विशेषगरी धनकुटा नगरपालिकाको १, २, ३, ४ र १० नम्बर वडामा फूलको व्यावसायिक खेती हुने गरेको छ ।

ती स्थानहरू यतिबेला सयपत्री फूलले ढकमक्क बनेका छन् । सो क्षेत्रका करिब एक सय कृषकले व्यावसायिक सयपत्री फूलको खेतीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन् ।
मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएका छन् । यहाँका किसानले धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका छन् ।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ । फूल नबिग्रि एक याममा प्रतिरोपनी जग्गाबाट ७० हजारदेखि  एक लाखसम्म आम्दानी गर्न सकिन्छ ।

तर, पछिल्लो समय किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ । पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएकी अनिता राई सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि सहज भएको बताउँछिन् ।

‘कृषकको बारीमै फूल किन्न आउने व्यापारीले अग्रिम बुकिङ गर्दै रकम दिने गरेका छन् । उत्पादन गर्न सके जति पनि बिक्छ’, राई भन्छिन् । धनकुटामा उत्पादित फूल धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहालगायतका बजारमा पुग्ने गरेको छ ।

लकडाउनले उत्पादनमा कमी
तिहारका लागि फूलको व्यावसायिक खेती गर्दै आएका धनकुटाका किसानले यस वर्ष भने सोचेजस्तो फूल उत्पादन गर्न सकेनन् । कोरोना महामारीका कारणले सरकारले गरेको लकडाउनले समयमै पर्याप्त मात्रामा मल बिउ नपाएपछि उत्पादनमा कमी भएको किसानको गुनासो छ । धनकुटा नगरपालिका–३ सिप्तीङका किसान रेशबहादुर राईले विगतका वर्षमा तिहारको समय फूल बिक्री गरेर ६ महिनाका लागि परिवारको सबै खर्च जुटाउँदै आएका थिए । तर, यो वर्ष भने लकडाउनका कारण समयमै मल बिउ
नपाउन्लन लगानीसमेत उठाउन नसकिएको बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्