ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामग्री अभावले गौशाला-चाबहिल सडकको निर्माण कार्य रोकियो

२०७७ कार्तिक, २८  
समाचार
Image Not Found

कात्तिक २८, काठमाडौं । निर्माण सामग्री अभावका कारण गौशाला–चाबहिल सडक निर्माण अवरुद्ध हुन पुगेको छ । कात्तिक मसान्तसम्म कालोपत्रको योजना बनाइएको भए पनि गोदावरी नगरपालिकाको लेलेमा रहेका ढुङ्गाखानी तत्कालका लागि बन्द हुँदा सडक निर्माण गर्न नसकिएको हो । 

निर्माण सामग्री उपलब्ध हुँदा हिजोआज नै सम्पन्न भइसक्ने भए पनि अभाव हुँदा काम रोकिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार लेलेस्थित ढुङ्गा रोडा उद्योगमा आवश्यक सामग्री तयारी भइसकेको थियो । 

ती सामग्री ल्याउन प्रयास गरिए पनि प्रशासनले रोक लगाएका कारण ल्याउन सकिएको छैन । उनले भने, ‘कानूनी रुपमा नै रोकिएकाले हामीले जोड गर्न पनि मिलेन ।’
जिल्ला प्रशासन कार्यालय ललितपुरले यही कात्तिक ४ गते निर्णय गरेर मापण्ड विपरीत सञ्चालित नदीजन्य तथा खानीजन्य उत्खनन, ओसारपसार तथा विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र ललितपुरका जनप्रतिनिधिसम्मिलित बैठकले अर्को सूचना नभएसम्मका लागि  ती उद्योगमा रोक लगाएको थियो । ललितपुरका लेले, नल्लुलगायत क्षेत्रबाट नै काठमाडौं उपत्यकाका अधिकांश स्थानमा सडकलगायत पूर्वाधार निर्माणका लागि आवश्यक ढुंगा, गिट्टीलगायत सामग्री आउने गरेको थियो । 

सडक निर्माण सम्पन्न गर्न अरु स्थानबाट सामग्री ल्याउन सकिने भए पनि त्यसका लागि थप समय लाग्ने प्रमुख नेपालीले बताए । उनका अनुसार आवश्यक मात्रामा निर्माण सामग्री तयार गर्न कम्तीमा पनि दुई साता लाग्छ । उनले भने, ‘आवश्यक मात्रामा एउटै क्रसरबाट नहुँदा धेरैमा भन्नुपर्ने पनि हुन सक्छ ।’

सो सडक सम्पन्न गर्न तोकिएको अवधि आगामी पुससम्म छ । अवधि अझै बाँकी रहे पनि स्थानीयवासीले दुःख पाइरहेकाले दशैँ तिहारलगायत चाडपर्वअघि नै सम्पन्न गर्ने डिभिजनको लक्ष्य थियो । उनले भने, ‘कानूनी रुपमा समयावधिभन्दा पनि हामीले गरेको प्रतिबद्धतानअनुसार गर्न सकिँदैन भन्ने हाम्रो चिन्ता छ ।’

कार्यालयले निर्माणको काम गरिरहेको पुतलीसडकबाट ज्ञानेश्वर हुँदै कमलपोखरीसम्मको सडक निर्माण पनि निर्माण सामग्री अभावकै कारण अवरुद्ध छ । सडक निर्माण भइरहेकै समयमा निर्माण सामग्री नहुँदा काम बीचैमा अलपत्र भएको देखिन्छ । 

गौशाला–चाबहिल सडक बढी सवारीसाधनको चाप रहेको उपत्यकाको सडकमध्ये एक हो । सत्ताइस दशमलव दुई किमी लम्बाइको चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वरदेखि कलंकी चीन सरकारले विस्तार गरिसकेको छ । 

दोस्रो खण्डका रुपमा कलंकीदेखि धोबीखोला (गोपीकृष्ण चलचित्रघर)सम्म को सडक विस्तारका लागि सरकारले निर्माणस्थल खाली गरिरहेको छ । धोबीखोलादेखि गौशालासम्मको खण्ड भने कार्यालयले निर्माण गरिरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्