ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतका ११ ओटा लघु जलविद्युत् आयोजना अलपत्र    

२०७७ मंसिर, १  
गण्डकी प्रदेश
Image Not Found

मंसिर १, पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्‍याउने भन्दै लाखौं रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका छन् । दुई दशक अघिदेखि यूएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ ओटा आयोजना अहिले पूर्णरुपमा बन्द भएका हुन् ।     
     
तीन वर्ष अघिसम्म तीन ओटा मात्र आयोजना सञ्चालनमा रहेको भएपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि बन्द भएका हुन् । पछिल्ला केही वर्ष यता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका वडाहरुमा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो ।     
     
 दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत पूर्णरुपमा बन्द रहेका छन् । त्यस्तै बाच्छा गाविसको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनाले पनि उत्पादन गर्न छोडेको छ ।
  
     
 पर्वतको मोदी गाउँपालिका—१ भुकताङ्गमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ । उता महाशिला गाउँपालिका—२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि दुई वर्ष अघि गाउँमा केन्द्रीय प्रशारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् ।     
     
मर्मतको अभाव र कम थोरै क्षमता हुने भएपनि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति उर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट समेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको छ ।     
     
पछिल्लो समय स्थानीय तहहरुले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भिमबहादुर खड्काले बताए। 
     
 जिल्लाका ११ ओटा लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट १ हजार ४०३ घरधुरीका ९ हजार बासिन्दा लाभान्वित भएका थिए । विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजनाहरु अहिले भग्वावशेष बनेका छन् । ती आयोजनाको लागि २ करोड २५ लाख खर्चिएपनि केन्द्रीय प्रशारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्