ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माणको कार्य अन्तिम चरणमा

२०७७ मंसिर, १  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

मंसिर १, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । 

टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भइरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए । 

‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’ उनले भने ‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।’ 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७० दशमलव ५ मिटर सुरुङको २०७६ वैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युत्गृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । 

बाँधमा पानी थुनेर परीक्षण भइसकेको छ । कुल ११५ मिटर लम्बाई, ८ दशमलव ५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको दुई भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्मे पेन स्टक पाईप जडान भएको छ ।

मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । 

दुवै आयोजनाको प्रवर्द्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरीदका लागि आवेदन आव्हान गरिएको बताए । 

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत्आयोजना सञ्चालनमा छ । त्यस्तै ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महीनादेखि उत्पादन शुरु गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्