ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश स्वरोजगार विकास कोष कार्यान्वयनमा सकस

२०७७ मंसिर, ३  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी (अस) । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष अझै कार्यान्वयनमा आएको छैन । प्रदेशका आथिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले चालू आवको साउन १ गतेदेखि प्रदेश स्वरोजगार विकास कोष कार्यान्वयनमा आउने बताए पनि कोष कार्यान्वयनका लागि कार्यकारी निर्देशकको पदपूर्ति हुन नसक्दा बाँकी प्रक्रिया रोकिन पुगेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मै ऐन÷नियमावली बनाएर प्रदेश स्वरोजगार विकास कोष कार्यान्वनमा ल्याउने भन्दै कोषमा १ अर्ब रुपैयाँ राखिएको थियो । विविध कारण गतवर्ष कार्यान्वयनमा आउने नसकेको कोष चालू आवमा पनि कार्यान्वयनमा ल्याउन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सकस परेको छ ।

‘प्रदेश स्वरोजगार विकास कोष कार्यान्वयनका लागि कोषको कार्यकारी निर्देशक पदपूर्तिका लागि तीनपटकसम्म सूचना आह्वान गर्दा पनि छनोट गर्न सकिएको छैन,’ आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी खगेन्द्र साउदले भने, ‘पहिलोपटक सूचना प्रकाशन गर्दा कसैको आवेदन परेन । दोस्रो पटकको सूचनामा तीन जनाभन्दा कमको आवेदन परेकाले छनोट गर्न कार्यविधिले दिएन ।’ तेस्रोपटक ७ दिने सूचना निकालेकोमा तीनभन्दा बढीको आवेदन परेकाले त्यसैबाट छनौट गरी कोषको कार्यकारी निर्देशकको पदपूर्तिपछि बाँकी कर्मचारी भर्नाको विषय आवभित्रै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको उनले बताए ।

कोषको रकम चालू आवमा बढाइएको छ । गतवर्ष १ अर्बको कोष बनाइएको थियो भने यसपालि ४१ करोड थपेर कुल १ अर्ब ४१ करोड रुपैयाँ पु¥याइएको छ । कोषको रकम कार्यान्वयनका लागि कार्ययोजना निर्माणकै क्रममा रहेको सूचना अधिकारी साउदले बताए । प्रदेशभित्र नयाँ नयाँ रोजगारी सृजना गरी आर्थिक रूपमा सक्षम जनशक्ति विकास गर्ने उद्देश्यले स्वरोजगार विकास कोषको स्थापना गरिएको जानकारी उनले दिए । तर कोषको कार्यकारी निर्देशककै पदपूर्ति हुन नसक्दा बाँकी प्रक्रिया अघि बढाउन मन्त्रालयलाई समस्या परेको अधिकारीहरू बताउँछन् ।

स्वरोजगार विकास कोष ऐन २०७५ प्रदेश सभाबाट पारित भएर कोष नियमावली २०७६ समेत यसअघि नै तयार भइसकेकाले साउनदेखि कोष कार्यान्वयनमा आउने बताइए पनि ठोस रूपमा काम हुन सकेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्