ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुन्तलाको बोट छ, फल छैन

२०७७ मंसिर, ३  
गण्डकी प्रदेश
NA

लमजुङ । साविकको जिल्ला कृषि विकास कार्यालय लमजुङद्वारा सुन्तला पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि सुन्तलाका बोट मात्रै छन् । सुन्तला विक्रीबाट मात्रै वार्षिक रू. ५ लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँशीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ । १५–१६ वर्षअघिदेखि ४०० रोपनीमा ३०० भन्दा बढी बोटले फल दिँदै आएका थिए । त्यसबाट वर्षेनि रू. ३ लाखदेखि ४ लाखसम्म आम्दानी हुने गरेको थियो ।

केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भने, ‘अहिले त परिवारले खाने पनि सुन्तला छैन । सुन्तला सखाप भए पनि धान, मकैखेती गर्न थालिएको छ ।’ गाउँमै सबैभन्दा पहिला करीब ४० वर्ष अघिदेखि ९ रोपनी क्षेत्रफलमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाएर फल दिन थालेपछि वर्षेनि रू. ५ लाखभन्दा बढी आम्दानी गर्दै परिवारको खर्चमा टेवा पुग्दै आएको थियो । ५ वर्ष अघिदेखि सुन्तलाका बोटमा लागेको रोगका कारण मासिँदै जाँदा यतिबेला १९५ बोट मात्र बाँकी छ ।  यस वर्ष रू. १ लाख जति मात्रै आम्दानी हुने अपेक्षा रहेको उनले बताए ।

उनको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी  छन् । १२ वर्षका बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको किसान उत्तमराज पाण्डेले बताए । ‘ठीक यही समयमा सुन्तला बगैंचा हेर्दै खाँदै किसान आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुशी भएर बसेका हुन्थे ।’ सुन्तला किसानले व्यापारीसँग राम्रो मूल्यमा विक्री गर्दै आए पनि केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ ।

विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रू. ४ लाखसम्म आम्दानी गरेका रमेशराज पन्तको आम्दानी वार्षिक रू. ५० हजार पनि मुश्किलले हुने गरेको छ । धेरै स्याहारसुसार र  मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म आम्दानी लिइरहेको उनको भनाइ छ । गाउँभरिका बगैंचाबाट केही वर्षअघिसम्म वार्षिक रू. २ करोडभन्दा बढी आम्दानी हुने गरे पनि ५ वर्षदेखि रू. १०÷१५ लाख मात्रै आम्दानी हुने गरेको सुन्तला कृषक कृष्णप्रसाद पन्तले बताए । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोट जस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैंचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले बताएको छ ।

कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँबाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारका लामासोती र भोटेओडार, उदीपुरको धिमिरे, गाउँशहरलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्