ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड प्रभाव : डल्ले रेस्टुरेन्टको विदेशमा सेवा विस्तार योजना स्थगन

२०७७ मंसिर, ३  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउने लक्ष्य राखेको डल्ले रेस्टुरेन्टले तत्कालका लागि सेवा विस्तार योजना स्थगन गरेको छ । ९ वर्षअघि रेस्टुरेन्टका सञ्चालक सुवास गौचन र आलोक योन्जनले सुरु गरेको डल्ले रेस्टुरेन्ट छोटो समयमै स्थापित भएको थियो ।

काठमाडाैंमा १० वटा आउटलेटसहित बुटवलमा २ र पोखरामा १ फ्रेन्चाइज रहेको गरेको कम्पनीले अघिल्लो वर्ष नेपालबाहिर पनि सेवा विस्तार गर्ने योजना बनाएको थियो । कम्पनीले भारत, दुबई, अस्ट्रेलिया, हङकङलगायत देशमा पहिलो चरणको अध्ययन गरेकामा भारत र दुबईमा ब्रान्ड विस्तारको प्रक्रिया अघि बढाएको थियो ।

यद्यपि, कोभिड महामारीपछि कम्पनी घाटामा गएपछि तत्कालका लागि सेवा विस्तारको योजना स्थगन गरिएको कम्पनी सञ्चालक सुवास गौचनले बताए ।

उनले भने, ‘यतिबेला कसरी टिक्ने भन्ने नै मुख्य चुनौती बनेको छ । कोभिडपछि व्यवसाय ऋणात्मक बनेको छ ।’ सेवा विस्तार गर्दा पनि त्यसको भविष्य के हुने भन्ने अन्योल भएपछि सेवा विस्तार योजना कम्तीमा एक वर्षका लागि स्थगन गरिएको उनले बताए ।

भारत र दुबईमा नेपालीको संख्या पनि अत्यधिक भएको र त्यहाँ सेवा विस्तार गर्दा रेस्टुरेन्ट सञ्चालन गर्नसमेत सकिने निक्यौल कम्पनीको थियो । त्यसका लागि कम्पनीले ठाउँ अध्ययन पनि गरेको थियो । तर, विदेशमा लगानी गर्न नमिल्ने कानुनी अड्चनका कारण कम्पनीले टेक्निकल सेयरिङमा जाने योजनासमेत बनाएको थियो ।

तर, विश्वमै कोभिडको नकारात्मक प्रभाव परेको र ती देशबाट नेपालीहरुसमेत रोजगारी गुमाएर फर्किने क्रम बढेपछि सेवा विस्तारको योजना रोकेको जानकारी कम्पनीले दिएको छ ।

कोभिडपछि व्यापार ऋणात्मक हुँदै गएकामा यो आर्थिक वर्षमा व्यवसाय अझै सामान्य नहुने कम्पनीको निक्र्योल छ । नेपालबाहिरका योजना छाडेर कम्पनी आन्तरिक बजारमै केन्द्रित भएकामा पछिल्लो समय कर्मचारीसमेत कटौती गरेको छ ।

बन्दाबन्दीको तीन महिनामा कर्मचारी कटौती नगरेको कम्पनीले पछि तलब दिन नसक्ने भएपछि ४० प्रतिशतसम्म कटौती गरेको हो । व्यवसाय धराशयी भए पनि सरकारले सहयोग नगरेको गुनासो कम्पनीको छ ।

कम्पनी सञ्चालक गौचनले भने, ‘यस्तो बेलामा सरकारबाट हामीले  ठूलो कुनै अपेक्षा पनि गरेका थिएनौं तर उल्टै ताकेता गरेर कर्जा तिर्न भन्यो । यतिबेला कम्तीमा करमा समयावधि थप्ने तथा भ्याट छुट दिने काम गरे केही राहत हुन्थ्यो ।’

सरकारले नै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नखोजेको उनको आरोप छ । तत्कालका लागि व्यवसाय बचाउनु नै ठूलो भएको बताउँदै अन्य योजना कोभिड महामारी नियन्त्रणपछि मात्र सुरु गरिने उनले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्