ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमादब्लम हिमालमा आरोहीको आकर्षण

२०७७ मंसिर, ३  
वाग्मती प्रदेश
Image Not Found

काठमाडौं । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।

यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य मंगलवार अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।     

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मंगलवार अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिचाउँदै आरोहणमा उत्साह प्रदान गरेका छन् । पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण संघ (एनएमए)का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउँछन् । ‘अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो । विदेशीले यो हिमाल आरोहण गरेका छन्,’ उनले भने । उनका अनुसार शरद् एवं आरोहणका लागि अनुकूल मानिने वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । हालसम्म कति संख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन ।     

वसन्तमा सगरमाथा, कञ्चनजंघा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको घुइँचो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् । यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गरेका थिए । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । उक्त टोलीमा ६ विदेशी आरोही सदस्य थिए ।

कतारी राजकुमारसहितको आरोही टोलीलाई कात्तिक २९ गते पर्यटनमन्त्रीले बधाई तथा मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए । सो क्रममा राजकुमार अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्यले आफू मोहित भएको भन्दै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउने वाचा गरेका थिए ।

त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

कोभिड–१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । साथै यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव पारेको सरकार र व्यवसायीको धारणा छ । कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताए । यी आरोहणले सन् २०२१ वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उनको भनाइ छ ।

एशियन ट्रेकिङका संस्थापक आङ्छिरिङ शेर्पाले महामारीकै बीच अमादब्लमलगायत अन्य हिमालमा विशिष्ट व्यक्तिको आरोहणले पर्यटनमा उत्साह जगाएको र व्यवसायीलाई आशावादी तुल्याएको बताए । आरोहण, पदयात्रालगायत गतिविधिले पर्यटन छिट्टै पुरानै लयमा फर्किने उनको विश्वास छ ।

अहिले सेभेन समिट ट्रक कम्पनीबाट आरोही मिङ्मा शेर्पा अमादब्लम हिमाल आरोहणको क्रममा छन् । अर्का आरोही टासीलाक्पा शेर्पाको टोली पनि अमादब्लम हिमाल आरोहणका लागि गएको छ । त्यस्तै अन्य कतिपय ससाना टोली आरोहणमा निस्किएका छन् । यही याममा एशियन ट्रेकिङबाट दावा स्टेभन शेर्पासहितको टोलीले मेरापिक र बरुन्चे हिमाल आरोहण गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्