ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्थानीय निकायका उदाहरणीय काम

२०७७ मंसिर, ३  
लेख | दृष्टिकोण
Image Not Found

रौतहट जिल्लाको कटहरिया नगरपालिका ४०.६९ वर्ग किलोमीटरमा फैलिएको र ३८ हजार ४१३ वर्गकिमी क्षेत्रफलमा फैलिएको नगरपालिका हो । यस नगरपालिकाले ग्रामीण विद्युतीकरणबाट प्रत्येक कुरियाको २० युनिटसम्मको विद्युत् घर उज्यालो कार्यक्रमअन्तर्गत सहुलियत दिने गरेको छ । त्यसको सबै शुल्क नगरपालिका बेहोर्छ । यसले गर्दा जनताले भरपुर उज्यालोको प्रयोग गर्न पाएका छन् ।

हरियालीपूर्ण कटहरियाको निर्माणका लागि किसानले खेत नर्सरी आदिका लागि ट्युबवेलहरूबाट पानी तान्दा लाग्ने सम्पूर्ण विद्युत् महसुल खर्च नगरपालिकाले नै बेहोर्ने निर्णय पनि नगरपालिकाले गरेको छ । सामाजिक परिवर्तनको सन्दर्भमा यो नगरपालिकाले अर्को अचम्मको सामाजिक अभियान सञ्चालन गरेको छ । दिउँसोमा विवाह गर्नेलाई पुरस्कार दिने प्रचलन शुरू गरेको छ । अहिलेसम्म रौतहटका धेरै समुदायमा रातमा विवाह गर्ने चलन छ ।

राति जन्ती जाने दुलही पक्षका घरमा बस्ने र बिहान दुलही लिएर फर्कने चलन छ । यसो गर्दा खर्च बढी हुन्छ । रातमा बसमा जाँदा सुरक्षा चुनौती हुने, जन्ती सुताउने समस्या हुने, लजहरू बुक गरेर जन्ती सुताउनुपर्ने आदि अनेक समस्या यसमा छन् । त्यसैले दिउँसो विवाहमा राजी हुने दुलही पक्षलाई रू. २० हजार र दुलाह पक्षलाई रू. १० हजार विवाह खर्च दिने चलन चलाएको छ । सम्भवतः यो नेपालकै पहिलो कार्यक्रम हो । महिलालाई प्रत्येक वर्ष विशेष सम्मान गर्ने चलन पनि यो नगरपालिकाले चलाएको छ । यी त सामाजिक क्रियाकलाप भए ।

पूर्वाधारको क्षेत्रमा सडक सुधारका अनेक काम भएका छन् । यहाँका वडाहरू जोड्ने सडकलाई कालोपत्र गरिँदै छ । यो सबै पालिकाको प्राथमिकताको कार्य हो । यसबाहेक यस नगरपालिकाले ४१ करोडको लागतमा कोल्ड स्टोर खोल्दै छ र यसको टेन्डर प्रक्रिया शुरू हुँदै छ । यसमा किसानहरूका फलफूल दूध तरकारी आदि राम्रोसँग संरक्षण गरेर राख्न सकिने र बेसिजनमा महँगो बेच्न सकिने भएकाले कर्मवीर किसान लाभान्वित हुने देखिएको छ ।

त्यस्तै २०६८ को जनगणनाअनुसार २७ हजार ३७ जनसंख्या रहेको कर्णाली प्रदेश दैलेख जिल्लाको नारायण नगरपालिका चेतना, आर्थिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको छ । यहाँ सडक, पूर्वाधार, ग्रामीण विद्युतीकरण, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम भएका छन् । यो नगरपालिकाले जनताको अवस्था र व्यवस्था सुधार गर्न असल आमा प्रोत्साहन कार्यक्रम, गर्भवती महिलासँग उपप्रमुख भेटघाट र पोषिलो झोला हस्तान्तरण कार्यक्रम उदाहरणीय छन् ।

कोभिड संकट व्यवस्थापनका लागि यस नगरपालिकाले पीसीआर टेस्ट गर्ने मेशिन खरीद गर्नुका साथै ५० शय्याको पाँचओटा भवन निर्माण गरी कोरोनाविरुद्धको लडाइँमा दीर्घकालीन तयारी गरेको देखिन्छ । त्यस्तै स्वास्थ्यकर्मी व्यवस्था र तालीमलगायत स्वास्थ्यकर्मी सक्षमता विकासका काम पनि नगरपालिकाले गरेको छ । १० ओटा विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गरिएको छ । जुन ठाउँबाट उपचारका लागि स्वास्थ्य चौकी पुग्न टाढा छ, अपायक छ भने त्यहाँ सामुदायिक स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिएको छ ।

शिक्षाविना समाजको विकास र समाजविना देशको विकास हुँदैन भन्ने सोचलाई सर्वोपरि राखी पालिकामा ३४ शिक्षकको व्यवस्था गरी सबै विषयमा राम्रो गर्ने प्रयास गरेको छ र आवश्यकताका आधारमा विद्यालय पूर्वाधार सुधारका कामहरू गरिएको छ । विद्यार्थीहरूलाई समयअनुसारको ज्ञान दिनुका साथै नयाँ प्रविधिमैत्री छात्रछात्रा बनाउने र समयानुकूल ज्ञानमा आधारित समाज बनाउने प्रयास पनि भइरहेको छ । अर्थात् पञ्चवर्षीय शिक्षा रणनीतिका आधारमा विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सक्दो प्रयास गरिएको छ । कृषि हाम्रो जीवनको आधार हो भन्ने सोचका साथ नगरपालिकाले दूधमा आत्मनिर्भर बन्ने प्रयास गरेको छ । किसानहरूलाई दुहुनो भैंसी वितरण कार्य पनि सञ्चालन गरिएको छ । सम्भवतः यसप्रकारको चुनौतीपूर्ण काम गर्ने यो पहिलो नगरपालिका बनेको छ ।

नगरपालिकाले एक सहकारीसँगको साझेदारीमा १२१ र नगरपालिका कृषि शाखामार्फत १५ भैंसी वितरण गरिएको छ । पहाडको ठाउँ भएकाले कृषिमा चामत्कारिक विकास गर्न सकिएको छैन, जुन देशको आजको आवश्यकता हो । सकेसम्म थोरै जनशक्तिबाट प्रविधिको प्रयोग गरी धेरै उत्पादनमा जोड दिनुपर्ने धारणा नगरपालिकाको रहेको छ । बाख्रा फर्म, कुखुरा फर्म र फलपूmल पकेट क्षेत्रमा पनि यो पालिकाका सबै वडाबाट प्रयास भएको छ ।

सोलखुम्बुको महाकुलुङगाउँ नेपालका अति नै विकट स्थानमध्ये १ थियो । स्थानीय निकायको निर्वाचनपछि गाँउपालिकाको पहलमा यो गाउँमा सडक पुग्यो । अहिले यहाँका पाँचओटै वडाहरू प्रत्येक वडाका स्वास्थ्य चौकीहरू एकआपसमा इन्टर कनेक्टेड भएका छन् ।

एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जब सगरमाथा चढ्नका लागि सन् १९५३ मा अरुण भ्यालीबाट नाम्चेतिर जाँदा प्रयोग गरेको बाटोलाई ऐतिहासिक पदमार्गका रूपमा विकास गर्ने सोच गरिएको छ । सडक बनाउँदाको एक आश्चर्य जुन प्रत्येक नेपालीले बुझ्न जरुरी छ । यो गाउँपालिकामा सडक पुर्‍याउन एउटा पहरामा ट्र्याक खोल्नुपर्ने थियो । सरकारी निकायलाई नाप जाँच गर्न लगाउँदा त्यो ट्र्याक खोल्न कम्तीमा १० करोड लाग्ने र ३ वर्ष समय लाग्ने भन्ने जवाफ आएपछि अध्यक्ष र पालिका टीम तथा स्थानीय जनता मिलेर साढे २ महीनामा २ करोड ७० लाख मात्र खर्चमा त्यो काम पूरा भएको छ । गाउँ तथा उपभोक्ता समिति मिलेर चाहेमा कति सस्तोमा कति छिटो काम हुँदो रहेछ भन्ने उदाहरण यो पालिकाले दिएको छ ।

यो पालिकामा पाँचपोखरी, साल्पापोखरी, सिलोछे डाँडा आदि पर्यटकीय स्थान त छँदै छन् त्यो भन्दा पनि फरक तरीकाले त्यहाँ विशाल मानव निर्मित महाकुलुङ ताल बनाइँदै छ । युवा र जोसिला वडाध्यक्षहरूबीच थोरै रकममा धेरै काम गर्ने होड चलेको छ, यहाँ । दुर्गम गाउँमा विकासका अनेक चुनौती छन् तर युवाहरूले गाउँ छोडेका छैनन् । पर्वतारोहणसम्बन्धी पेशाको कारण युवाहरू गाउँमै छन् विदेश गएका छैनन् । २०७६ सालमा महाकुलुङ अस्पताल बन्यो १० जनासम्म राख्न मिल्ने एडमन्ड हिलारी वृद्धाश्रम छ । नदी थुनेर ताल बनाउने पहाड फोरेर ७५ दिनमा बाटो बनाउने उत्साह र उमंग छ ।

यसरी केही स्थानीय सरकारका काम उदाहरणीय छन् । तिनलाई प्रोत्साहन र सहयोग जरुरी छ ।

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्