ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंकहरूको मुनाफा र शेयरबजार

अर्थतन्त्रको आगामी दिशा के होला ?

२०७७ मंसिर, ३  
लेख | दृष्टिकोण
Image Not Found

चालू आथिक वर्षको पहिलो पाउ (त्रयमास) को समाप्ति सँगसँगै बैंकहरूले पनि धमाधम आफ्नो अपरिष्कृत वित्तीय विवरणहरू सार्वजनिक गर्न थालेका छन् । करीब १ वर्ष अगाडिदेखि नै विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को महामारीका बीच जसरी बैंकहरूको व्यवसायमा पर्ने नकारात्मक प्रभावका बारेमा गरिएका आशंका र चर्चाको आलोकमा उनीहरूले आर्जन गर्ने मुनाफामा तीव्र ह्रास आउने अड्कलबाजी गरिएको थियो, त्यसलाई अहिले बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणहरूले केही हदसम्म भए पनि गलत सावित गरिदिएर सीमित र क्षणिक नै भए पनि आशाका किरणहरू छर्न सफल भएका छन् । हुन त केहीलाई अपवादमा राखेर अधिकांश बैंकहरूको नाफा गतवर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा केही खुम्चिएको देखिन्छ तापनि अपेक्षाकृत मुनाफामा आएको सीमित संकुचनले यो आशाको किरण जगाउन सफल भएको मान्न सकिन्छ । यो सानो आलेखमा अहिले यसरी देखिएका आशाका किरणहरूका कारण र तिनको दिगोपनाका लागि गर्न सकिने अपेक्षाको धरातलीय यथार्थको बारेमा संक्षेपमा केलाइकुलाई गर्ने प्रयास गरिएको छ ।

अहिले खराब अवस्थामा रहेको बैंकको कर्जालाई संकटका बेला भनेर दिइएको छूटले केवल कर्जाको खराबीलाई लुकाउने काम मात्र भयो भने र भोलि सहज अवस्थामा पनि कर्जाले खराब स्वरूप नै धारण गरिरह्यो भनेचाहिँ अहिलेको सुविधा र सहुलियतजन्य ‘औषधि’ को साइड इफेक्ट समग्र अर्थतन्त्रमाथि नै पर्न सक्छ ।

नेपाल राष्ट्र बैंकले खराब कर्जाको सन्दर्भमा कोभिड–१९ को परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै त्यसको नकारात्मक प्रभावबाट उद्योग व्यवसायलाई मात्र होइन, बैंकिङ जगत्लाई पनि सकेसम्म मुक्त राख्ने प्रयास स्वरूप गरेका कतिपय छूट र सहुलियतका व्यवस्थाले पनि अहिले बैंकहरूलाई आप्mनो वासलात स्वस्थ देखाउन मद्दत गरिरहेको छ । विशेष गरी बक्यौता ब्याजको निश्चित प्रतिशत (१० प्रतिशत) रकमको भुक्तानी मात्रले पनि कतिपय प्रकारका ऋणहरू पुनः संरचना तथा पुनर्तालिकीकारण गर्न पाउने सुविधाले बैंकहरूलाई यो अप्ठ्यारो परिस्थितिको चुनौती सामना गर्न केही सहज बनाएको छ । यसले गर्दा सामान्य अवस्थामा खराब वर्गमा पर्ने निश्चित भएका ऋणहरू समेत केही प्रतिशतको ब्याज भुक्तानी मात्रले पनि असल वर्गमा उक्लन सक्ने अवस्थाको सृजना भएको छ । त्यसो भएपछि बैंकहरूले खराब कर्जाको लागि गर्नुपर्ने सम्भावित नोक्सानी व्यवस्था ( प्रोभिजनिङ) को रकममा पनि उल्लेख्य बचत गर्न सक्ने भए । यसरी प्रोभिजनिङबापत गर्नुपर्ने खर्च कटौती भएपछि त्यसको सोझो र स्पष्ट सकारात्मक प्रभाव मुनाफामा प्रतिबिम्बित हुने नै भयो । यसरी बैंकहरूको मुनाफालाई कोभिडको जोखिमबाट कमभन्दा कम मात्र प्रभावित बनाई सुरक्षित राख्नमा नियामकीय सहुलियत र छूटले महत्त्वपूर्ण भूमिका खेलेको छ ।

संकटको घडीमा अर्थतन्त्र उकास्नका लागि सधैं आर्थिक र वित्तीय उपायहरू मात्र सफल नहुन सक्छन् । यसका लागि मानिसहरूमा आत्मविश्वास र भविष्यप्रतिको आशावादी ‘जिजीविषा’ पलाउनु पनि जरुरी हुन्छ । अहिले बैंकहरूको नाफामा कोरोनाले पारेको प्रभाव कम देखिनुले त्यो आशाको किरणलाई थप तेजिलो बनाएको छ । यो आशाको किरणले भोलिको अर्थतन्त्रले भोग्नुपर्ने कोभिडपछिको प्रकोपको असरलाई समन गर्न पक्कै पनि महŒवपूर्ण भूमिका खेल्ने कुरामा सन्देह छैन । किनभने आशाको किरणलाई जोगाएर थप तेजिलो बनाउन यस्तै सकारात्मक परिसूचकहरू आवश्यक पर्छन् ।

शायद यसै कारणले हुन सक्छ, शेयरबजारलाई समेत बैंकहरूको हालै प्रकाशित वित्तीय विवरणहरूले उत्साहित बनाएको छ ।

हुन त यसो हुनुमा विश्वमा स्थापित केही ठूला र प्रतिष्ठित औषधि उत्पादक कम्पनीहरूले गरेको कोरोनाको खोपको विकासले पनि योगदान दिएको छ । कोभिड–१९ को खोप बनेको समाचार विश्वमा सम्प्रेषित हुनेबित्तिकै विश्वव्यापी रूपमा नै जसरी शेयरबजारमा सकारात्मक संकेतहरू देखिएका छन् ठीक त्यसै गरी नेपाली शेयरबजार पनि उत्साहित भएको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्यका लागि खोप मात्र पर्याप्त नहुने बताइसकेको छ । तापनि, त्यस प्रकारको खोपको विकासले विश्व आकाशभरि नै आशाको घाम भने लागेको छ । त्यसो त यो खोपको विकास सँगसँगै देशमा भएको अर्थमन्त्रीको परिवर्तन तथा अमेरिकामा राष्ट्रपतिमा भएको बाइडेनको विजयलाई समेत जोडेर शेयरबजार उचालिएको तर्क गर्नेहरू पनि प्रशस्तै छन् ।

त्यसमाथि यसलाई अहिले बैंकहरूमा भएको अधिक तरलताको स्थितिले पनि सहयोग नै पु¥याएको देखिन्छ । अधिक तरलताका कारण बैंकहरूमा घटेको निक्षेपको ब्याजदरले तरलतालाई शेयरबजारतर्फ आकर्षित गरिरहेको सजिलै बुझ्न सकिन्छ । एकातिर लगानीका क्षेत्रहरूमा कोरोनाको कारण संकुचन आउनु र अर्कोतिर बैंकमा पनि निक्षेपको ब्याजदरमा कमी आउनुले खुद्रा लगानीकर्ताहरू शेयरबजारतर्फ आकर्षित हुनुलाई स्वाभाविक नै मान्न सकिन्छ र यसले तिहार बिदापछि सम्भवत मङ्सिर ३ गतेबाट पुनः खुल्ने नेपाली शेयरबजारको आगामी दिनहरू थप शुभ हुने संकेत पनि दिएको छ ।

यी सबै कुरा चर्चा गर्दागर्दै पनि एउटा महत्त्वपूर्ण कुरा भने हामीले बिर्सनु हुँदैन । कोठामा भएको फोहोरलाई वा शरीरमा भएको घाउलाई राम्रो कपडाले ढाक्दैमा त्यो फोहोर वा घाउको अस्तिŒव समाप्त भएको मान्न भने सकिँदैन । अहिले खराब अवस्थामा रहेको बैंकको कर्जालाई संकटको बेला भनेर दिइएको छूटले केवल कर्जाको खराबीलाई लुकाउने काम मात्र भयो भने र भोलि सहज अवस्थामा पनि कर्जाले खराब स्वरूप नै धारण गरिरह्यो भनेचाहिँ अहिलेको सुविधा र सहुलियतजन्य ‘औषधि’को साइड इफेक्ट समग्र अर्थतन्त्रमाथि नै पर्न सक्छ । यस्तो सहुलियतले अहिले व्यवस्थापन गर्न सकिने खालका जोखिमहरूलाई समेत ‘अनदेखा’ गर्ने प्रवृत्ति मौलाउन सक्ने अतिरिक्त जोखिम पैदा गर्नसक्छ । त्यसो भयो भने आवरणले ढाकेर राखिएको त्यो जोखिमको समयक्रम सँगसँगै मात्रा र प्रभाव पनि बढ्दै गई भविष्यमा एकैपटक प्रकट हुने अवस्था आएको अवस्थामा त्यसलाई देशको बैंकिङ प्रणालीले नधान्न पनि सक्छ । कदाचित् त्यो अवस्था आयो भने बैंकिङ जगत्ले मात्र होइन, समग्र अर्थ प्रणालीले नै त्यसको चर्को मूल्य चुकाउनुपर्ने हुन सक्छ । फेरि मानव स्वास्थ्यमाथि पर्ने एकीकृत प्रभावलाई कतिपय अवस्थामा कालान्तरमा जति समय, मेहनत र उपचारले कम गर्न सकिन्छ । सोहीअनुसारको समय, मेहनत र उपचारले देशको वित्तीय स्वास्थ्यलाई सहजै अनुकूल बनाउन भने सकिँदैन ।

अर्को कुरा अहिले कोरोनाका कारण लगानीका अवसरहरू संकुचित हुँदै गएका छन् । परिणामस्वरूप बैंकहरूमा तरलताको मात्र बढ्दो अवस्थामा रहेको छ । यस्तो परिस्थितिले बैंकहरूलाई कर्जा बढाउनुपर्ने दबाब सृजना हुन्छ । एकातिर बैंकहरूलाई कर्जा बढाउनुपर्ने दबाब त अर्कोतर्फ मुनाफा कायम गर्नुपर्ने चुनौतीका बीच एउटा बैंकमा खराब अवस्थामा रहेको कर्जा अर्को बैंकमा नयाँ कर्जाका रूपमा असल वर्गमा परिणत नहोला भन्न पनि सकिँदैन । यसले तात्कालिक रूपमा केही सीमित बैंक तथा व्यवसायीहरूलाई फाइदा त पुग्ला, तर त्यसको भविष्यमा बैंकिङ प्रणालीले नै चर्को मूल्य चुकाउनुपर्ने हुन सक्छ ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्