ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कैलालीमा धान खरीदमा ढिलाइ

२०७७ मंसिर, ३  
सुदूरपश्चिम प्रदेश
Image Not Found

मंसिर ३, कैलाली । कैलालीमा खरीद गरिएको धान राख्ने जुटको बोरा अभाव भएपछि धान खरीद रोकिएको छ । 

खाद्य व्यवस्था तथा कम्पनीले टीकापुरको खरीद केन्द्रबाट कात्तिक २८ गतेसम्म धान खरीद गरेको थियो । सोही दिनदेखि बोरा अभाव भएको भन्दै कम्पनीले धान खरीद गरेको छैन । 

धान राख्ने बोरा अभाव भएकाले बोरा व्यवस्थापन गरेर केही दिन ढिलाइ गरी पुनः खरीद शुरु गर्ने टीकापुर खरीद केन्द्रका प्रमुख चेतमान कठायतले जानकारी दिए । 

‘हामीसँग भएका सबै बोरा सकिएका छन्, धान खरीद गरेपछि केमा राख्ने ? समस्या भएर केही दिन रोकेका हौँ’, कठायतले भने, ‘बोरा व्यवस्थापन गर्दैछौँ, केही दिनमा फेरि शुरु गर्छौँ ।’

टीकापुरमा कात्तिक १८ गतेदेखि खरीद शुरु गरेको खाद्य व्यवस्था तथा कम्पनीले टीकापुर–१ को खाद्य गोदाम र वडा नं ४ को मौरनियाबाट धान खरीद गरिरहेको छ । टीकापुरको खाद्य गोदाममा भण्डारण गर्ने ठाउँ नहुँदा अहिले मौरनियाबाट धान खरीद भइरहेको उनी बताउँछन् ।

‘मौसमसँगै बोराको व्यवस्थापन भए आउँदो आइतवारदेखि मौरनियाबाट धान खरीद शुरु हुन्छ’, कठायत भन्छन्, ‘कम्पनीले यस आर्थिक वर्षमा कैलालीका विभिन्न चार स्थानबाट ६२ हजार क्विन्टल धान किसानबाट खरीद गर्ने लक्ष्य राखेर खरीद शुरु गरेको हो ।’

कम्पनीले टीकापुरबाट अहिलेसम्म आठ हजार क्विन्टल धान खरीद गरिसकेको छ । कम्पनीको लक्ष्यअनुरुप किसानबाट केन्द्रमा धान आउञ्जेल किसानको धान खरीद गरिने उनले बताए ।

खाद्य व्यवस्था तथा कम्पनीले प्रतिक्विन्टल मोटा धान रू. दुई हजार ७३५ र मध्यम धान रू. दुई हजार ८८५ मा खरीद गरिरहेको छ । कम्पनीले धान खरीद गर्ने स्थानमा दैनिक सयौँ साधन धान विक्रीका लागि लाइनमा बसेका हुन्छन् । 

बिहानै ४ बजेदेखि धान विक्रीका लागि किसानको लाइन लाग्ने गरेको छ । उचित मूल्य पाएपछि लाइनमा बसेका किसानले धान बेच्न नपाउँदा भने दिक्क भएका छन् । ‘गाउँ तथा बजारमा रहेका गल्लामण्डीमा मूल्य पाइँदैन, त्यहाँ रू. दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा विक्री भइरहेको छ’, स्थानिय किसान बन्धुराम चौधरीे भने, ‘यहाँ उचित मूल्य पाइन्छ भनी मैले धान बेचेको छैन । मजस्ता धेरै किसानले विक्री गर्न पाएका छैनौँ ।’

किसानले धानको विक्री मूल्य उचित पाउँदा यस वर्ष सरकारी खरीद केन्द्रमै धान बेच्ने गरेका हुन् । ‘धानको लागतअनुसारको उचित मूल्य पाउँदा हामी खुशी भएका छौँ तर रातदिन लाइनमा बसेर तोकिएको खरीद केन्द्रमा धान बेच्न कठिन भएको छ’, जानकी–६ का किसान सन्देश विक भन्छन्, ‘धान बेच्ने किसानको लर्को नसकिँदै अहिले धान खरीद बन्द भएको छ । 

गाउँतिरका किसानले पनि यस वर्ष उचित मूल्य पाइन्छ भन्दै धान विक्री गरेका छैनन् ।’ किसान विक खरीद केन्द्रले खरीद गर्ने ठाउँ बढाएर भए पनि किसानलाई सहज धान विक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । ‘अहिले दुई ठाउँबाट खरीद गर्न थालिएको छ । थप दुई ठाउँ थपेर धान खरीद गरिनुपर्छ’, उनले भने, ‘कैलाली धानखेतीका लागि उर्वरभूमि हो । उचित मूल्य पाएमा कृषिमा थप आकर्षण बढ्छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्