ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३५ करोड डलर बराबरको आर्थिक सम्झौतामा सरकार र विश्व बैंक बीच हस्ताक्षर 

२०७७ मंसिर, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड- १९ पश्चातको उत्थानशिल पुनरुत्थानका पहललाई टेवा पुर्‍याउने उद्धेष्यले  बुधवार  सरकार र विश्व बैंक बीच दुई छुट्टाछुट्टै सम्झौताहरुमा हस्ताक्षर भएको छ । 

नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना  र ‘वृद्धिका लागि वित्त’ विकास नीतिसहायता नामक सम्झौताहरुमा  अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक  फारिस हदाद जर्भोसले हस्ताक्षर ग्रेका हुन् ।

“नेपालमा सहरी विकासको सुदृढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैंकको सहयोग प्रति हामी आभारी छौं,” अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले भने, “यीआयोजनाहरूले नेपालमा संघीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिदैं सरकारको कोभिड -१९ पश्चातको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्‍याउने छन् ।”

१५ करोड अमेरिकी डलर (करीब १८ अर्ब रुपियाँ बराबर) को नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनैतिक शहरी समूहहरूमा अवस्थित विभिन्न नगरपालिकाहरूलाई सहयोग गर्नेछ जसमा पूर्वी तराई क्षेत्र (प्रदेश १ र २) र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) का नगरपालिकाहरू पर्छन् ।

उक्त आयोजनाले कार्यक्षेत्र अन्तर्गतका नगरपालिकाहरू र त्यहाँ बसोबास गर्ने नागरिकहरूको प्राथमिकतामा आधारमा  लक्षित शहरहरूका रणनैतिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान श्रोतको सुनिश्चिततासहित आर्थिक सहयोग पुर्‍याउने छ ।

उक्त आयोजनाले सुधारिएको शहरी व्यवस्थापनका लागि नगरपालिकाहरूको क्षमता अभिवृद्धि गर्न र नागरिकहरुको संलग्नतामा लक्षित नगरपालिकाहरूलाई उत्तम योजना बनाउन,  व्यवस्थापन गर्न र सेवा प्रवाहतथा शहरी व्यवस्थापनका क्रियाकलापहरूको उचित कार्यान्वयन गर्न सक्षम बनाउनेछ।

उक्त आयोजनाको कार्यान्वयनपछि सानाखालका श्रम केन्द्रित सार्वजनिक कामका लागि आर्थिक सहयोग पुर्‍याउने छ,जसले आर्थिक पुनरुत्थानलाई टेवादिदैं देशका विभिन्न ठाउँहरूमा महिला र जोखिममा परेका समूहका व्यक्तिहरू समेत गरी कम्तिमा २० हजार मानिसहरूका लागि अस्थायी रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ । 

यसैगरी, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका उपायहरुमा विविधता ल्याउन र वित्तीय सेवाहरूको पहुँचमा वृद्धि गर्नका लागि सरकारले अंगीकार गरेका विभिन्न सुधारका प्रयासहरु र व्यक्त गरेका बलियो प्रतिवद्धता को सह्राहना गर्दै विश्व बैंकले २० करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ नीति विकास सहायता मार्फत बजेट सहयोग प्रदान गरेको हो ।

उक्त आयोजनाले खासगरी महामारीको प्रभावको सन्दर्भमा, बैंकिङ र वित्तीय संस्थाहरूले सामना गर्नुपर्ने जोखिमहरूको उचित सुपरीवेक्षणमा सहयोग पुर्‍याउने छ। यसले निजी क्षेत्रमा जाने पूँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसरहरु उपलब्ध गराउन सहयोग पुर्‍याउने छ ।

उक्त आयोजनाले नियामक सुधारहरू मार्फत पूँजी, बीमा, उद्यम पूँजी,निजी इक्विटी र प्रकोप जोखिमसम्बन्धी वित्त बजार निर्माण गर्न मद्दत गर्नेछ । यसले बजारका साझेदारहरूका लागि नयाँ लगानीका अवसरहरूको ढोका खोल्न र निजी लगानी बढाउन पनि मद्दत गर्नेछ ।

नियामक र अन्य सुधारहरू मार्फत उक्त आयोजना-घरपरिवार, महिला र फर्महरूका लागि वित्तीय पहुँच विस्तार गर्नमा पनि केन्द्रित हुनेछ जसले अन्तरराष्ट्रिय वित्तको थप प्रवाहलाई आकर्षित गर्नेछ र विद्युतीय सेवाहरू, कर्जा पूर्वाधार र साक्षरता कार्यक्रमहरू पनि परिचालन गर्नेछ।

“राहत, पुनरुत्थानर उत्थानशिल योजना कार्यान्वयनका लागि  नेपाल सरकारको प्रयासमा सहयोग पुर्‍याउँदै तत्कालका आवश्यकताका साथसाथै दीर्घकालिन उद्देश्यहरू प्राप्त गर्न र महामारी पश्चातपहिले भन्दा सबल र उत्तम पुनर्निमाणका अवसरहरू सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिवद्ध छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, “यी नयाँ आयोजनाहरुमार्फत हामी संघीयता कार्यान्वयन प्रक्रियाको एक हिस्साका रूपमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थाहरूलाई सुदृढ पार्न र आर्थिक पुनरुत्थानलाई बढावा दिदैं उत्थानशिल वित्तीय क्षेत्रको निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न उत्साहित छौं।”

उक्त समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा।रमेश सिह, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र शहरी विकास विभागका महानिर्देशक मणिराम गेलाल लगायत अन्य पदाधिकारीहरु तथा नेपाल, मालदिभ्स र श्रीलकाका लागि विश्वबैकका अपरेशन मैनेजर  लाडा स्ट्रेलकोभा र वरिष्ठ अपरेशन अफिसर  विज्ञान प्रधानको समेत उपस्थिति थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्