ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

श्रमिक अभावले सुपका इँटा उद्योग बन्द हुने अवस्थामा

२०७७ मंसिर, ४  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । कोभिड महामारीका कारण घर फर्किएका भारतीय श्रमिक सीमा नाका बन्दका कारण काममा फर्कन नपाएपछि सुदूरपश्चिम प्रदेशमा सञ्चालित इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । प्रदेशभित्र सञ्चालित इँटा उद्योगमा ७० प्रतिशतभन्दा बढी जनशक्ति भारतीय रहेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । तर श्रमिक नै नभएपछि कैलाली र कञ्चनपुरका ६ दर्जनभन्दा बढी इँटा उद्योग प्रभावित भएको व्यवसायीले बताएका छन् ।

कैलाली र कञ्चनपुरका इँटा उद्योगमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी पुगिसकेको तर स्वदेशी जनशक्ति नहुँदा भारतीयमै निर्भर रहनुपरेको इँटा व्यवसायी संघ कैलालीका पूर्व महासचिव दीपेन्द्र श्रेष्ठले बताए । यस साताभित्र भारतीय श्रमिक भिœयाउन नसकिए यस क्षेत्रका इँटा उद्योग बन्द हुने चिन्ता व्यवसायीको छ । ‘भारतीय श्रमिक सीमा नाका बन्दका कारण काममा फर्कन नपाएपछि अहिले इँटा उत्पादन गर्न सकिएको छैन,’ खप्तड इँटा उद्योगका सञ्चालक समेत रहेका श्रेष्ठले भने ।

दक्ष जनशक्तिको रूपमा रहेका भारतीय श्रमिक आउन नसकेपछि उद्योगीले निकै कम मात्रामा काँचो इँटा मात्र उत्पादन गरिरहेका छन् । स्थानीय श्रमिकबाट गतवर्षको तुलनामा आधा मात्र काँचो इँटा बनाउन सकिएको व्यवसायीले बताएका छन् । भारतबाट दक्ष श्रमिक आउन नपाए इँटा पूर्ण तयार हुने सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

इँटा व्यवसायीले मङ्सिर पहिलो सातादेखि इँटा पोल्न शुरू गर्छन् । तर श्रमिक नै नभएपछि यो काम अन्योलमा परेको छ । कैलाली–कञ्चनपुरमा सञ्चालित इँटा उद्योगमा डेढ सयदेखि चार सयको संख्यामा श्रमिक कार्यरत छन् । तीमध्ये दुई तिहाइभन्दा बढी भारतीय श्रमिक रहेको इँटा व्यवसायी संघ, सुदूरपश्चिम प्रदेश समितिका सदस्य दीपेन्द्र ऐरले बताए । ‘मुख्य काम नै भारतीय श्रमिकबाट हुने गरेकोमा उनीहरू नआउँदा इँटा उत्पादन प्रभावित बनेको हो,’ उनले भने ।

संघीय सरकारले विकास निर्माण कार्यमा आवश्यक पर्ने सीमित श्रमिक प्रदेश सरकारको सिफारिशमा भारतबाट आउन दिए पनि उद्योगमा आवश्यक पर्ने श्रमिकलाई भने आउन अनुमति दिएको छैन । इँटा उद्योगमा इँटा छपाइ (काँचो इटा बनाउने काम), इँटाको भट्टीमा ढुवानी, भट्टाभित्र इँटा मिलाएर राख्ने काम (बेलदारी), मिलाएको इँटा खरानीले ढाक्ने र पाकेको इँटा भट्टीबाट निकाल्ने काम भारतीय श्रमिकबाटै हुने गरेको छ । त्यसैले अहिले काँचो इँटा तयार पार्ने कामबाहेक सबै काम रोकिएको उद्योगी व्यवसायीको भनाइ छ ।

भारतीय श्रमिक आउन नपाएपछि इँटा उत्पादन प्रभावित मात्र नभई व्यवसायीले श्रमिकका लागि गरेको लगानी समेत डुब्न सक्ने सम्भावना बढेको सीएन इँटा उद्योगका सञ्चालक सुरेन्द्र भट्टले बताए । ‘हरेक इटा उद्योगले भारतीय श्रमिकलाई १५–२० हजार भारू पेश्की दिने चलन छ,’ उनले भने, ‘अहिले आउन नपाएपछि उनीहरू भारतमै काममा लाग्न सक्छन् । यसले नेपाली व्यवसायीको लगानी डुब्ने र इँटा पनि उत्पादन नहुने अवस्था आउँछ ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार नेपाल सरकारले कोरोना महामारीका कारण नाकाबाट भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । ‘इँटा व्यवसाय लगायत समग्र उद्योग क्षेत्रमा भारतीय मजदूर आवश्यक पर्ने भए पनि सरकारी निर्णयका कारण हाल भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ,’ उनले भने, ‘व्यवसायीका समस्याबारे गृह मन्त्रालयलाई पटक–पटक जानकारी गराइसकेका छौं ।’

केही दिनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका समस्या बारेमा जानकारी गराइएको उनले बताए । जवाफमा मन्त्रीले छिट्टै भारतीय श्रमिकलाई नेपाल आउन दिने वातावरण मिलाइने जानकारी गराए पनि हालसम्म भारतीय श्रमिक आउनेबारे आपूmलाई कुनै जानकारी नभएको  प्रजिअ बोहराले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्