ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मानहुँकोटको भीड, आन्तरिक पर्यटन र बन्दाबन्दीको हल्ला

२०७७ मंसिर, ४  
लेख | दृष्टिकोण
Image Not Found

एकातिर कोरोना महामारीको आतंक छ, अर्कोतिर व्यवसाय नचल्दा तनाव छ । खासगरी पर्यटन व्यवसायीको अवस्था निकै दयनीय बन्दै गएको छ, जसले मुलुकको अर्थतन्त्रलाई नै गम्भीर धक्का पार्ने निश्चित छ । यस्तोमा केही पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । एकाएक चर्चामा आएको मानहुँकोटमा भएको भीडभाडले आन्तरिक पर्यटनका लागि फरक तरीकाले सोच्नुपर्ने र नयाँ गन्तव्यमा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई देखाएको छ ।

यसैबीच काठमाडौंका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि बन्दाबन्दी गरेर कोरोना नियन्त्रण गर्ने निष्कर्ष निकालेको समाचार सार्वजनिक भएको छ । उनीहरूले फेरि बन्दाबन्दी वा निषेधाज्ञा लागू गरेर कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने सुझाव पनि दिएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर तिहार र छठपछि कोरोना नियन्त्रणमा ब्रेक गर्ने निष्कर्ष निकालिएको भनिएको छ ।
जबसम्म भ्याक्सिन बन्दैन तबसम्म कोरोना नियन्त्रण हुन गाह्रो छ । भ्याक्सिन बनाउन सफलता मिलेका समाचारहरू आइरहेका छन् । तर, त्यो उत्पादन भएर नेपालमा सर्वसुलभ हुन अझै केही समय लाग्ने देखिन्छ । त्यसैले अब जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्छ । स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण बढिरहेको हो । यसमा सरकार र नागरिक दुवैको गल्ती र कमजोरी देखिन्छ । योजना बनाएर निषेधाज्ञा लागू गरेमा केही सरकारात्मक सर पर्न सक्ला तर यसबाट हात लाग्ने सफलताभन्दा पार्ने असर बढी गम्भीर हुने देखिन्छ । खासगरी, विगतमा गरिएका लामो बन्दाबन्दी र निषेधाज्ञाको समयमा सरकारले उपचार र रोकथामको राम्रो तयारी नगरेको हुँदा अर्थतन्त्रमा मात्रै क्षति पुगेकाले सबैजसो यसको विरोधमा थिए र अहिले पनि छन् । यस्तोमा पर्यटन क्षेत्रमा परेको असरलाई बेवास्ता गरेर गरिने निर्णय झनै घातक हुन सक्छ ।

काठमाडौं उपत्यका कोरोनाको महामारीको हटस्पट बनेको छ । यहाँ कोरानाको लक्षण भएर पनि जँचाउन नजानको संख्या बढ्दो छ । अझ सरकारले परीक्षण र उपचार शुल्कसमेत नबेहोर्ने भए पनि किन जँचाउनु भन्ने सोच बढेको छ । १४ दिन आफै आइसोलेशनमा बसेर तातोपानी खानेको संख्या पनि उल्लेख्य छ । यस्तोमा यो महामारी भुसको आगोझैं सल्किरहेको छ कि जस्तो देखिन्छ । यसो हुुनुको कारण आंशिक रूपमा नागरिक जिम्मेवार भए पनि मूलतः सरकारका गलत नीति र काम नै कोरोना पैmलाउनमा दोषी रहेको बुझ्न सकिन्छ ।

यस्तोमा काठमाडौंमा कोरोना नियन्त्रण लिन विशेष अभियान आवश्यक देखिन्छ । निषेधाज्ञा पनि एउटा उपाय हुन सक्ला तर नागरिकको व्यवसायमा असर नपरोस्, दैनिक गुजाराको बाटो बन्द नहोस् भन्नेमा पनि उत्तिकै ध्यान जानु आवश्यक छ । पहिलो चरणमा टोलटोलमा वडाध्यक्षको नेतृत्वमा निगरानी समिति बनाउन सकिन्छ । संक्रमितलाई घरमा राख्ने हो कि अस्पतालमा ? संक्रमित आइसोलेशनमा बसे नबसेको अनुगमन गर्न, ७ देखि १० दिनभित्र परीक्षण गर्न, आइसोलेशनमा बसेकालाई खानाको व्यवस्था गर्न, १४ दिन घरमै बस्न लगाउने काममा वडाध्यक्षहरूलाई परिचालित गर्न सकिन्छ । स्थानीय तहलाई जति परिचालन गरिन्छ त्यति कोरोनाविरुद्धको अभियान प्रभावकारी हुन्छ ।

निषेधाज्ञा लगाउने नै हो भने विगतको भन्दा फरक खालको हुनु आवश्यक छ । काठमाडौंमा कोरोना भयावह भए पनि देशका धेरै पर्यटकीय क्षेत्रमा कोरोनाको कुनै त्रास छैन । ती ठाउँमा पर्यटनका गतिविधि खुला गराउनुपर्छ र यसका लागि काठमाडौंको व्यवसायीलाई केही गतिविधिमा छूट दिनुपर्छ । पहिलो त निषेधाज्ञा समाधान हुँदै होइन भन्ने बुझ्नुपर्छ । दोस्रो निषेधाज्ञा भनेको महामारीविरुद्ध लड्न गरिने तयारी हो । यसमा रोग फैलन नदिएर र यसको उपचारका लागि आवश्यक तयारी गरिन्छ । कुन तहमा कति मात्रामा फैलिएको छ, कुन वर्ग बढी खतरामा छ र कुन क्षेत्रमा कस्तो कार्यक्रम ल्याउँदा कोरोनाको चेन टुटाउन सकिन्छ भन्ने राम्ररी गृहकार्य हुनुपर्छ । यसबारेमा जनस्वास्थ्यविद्का सुझावको पालना हुनु आवश्यक छ ।

तर, हामी पर्यटन व्यवसायीका लागि निषेधाज्ञा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । विदेशी पर्यटक ठप्प भए पनि अहिले आन्तरिक पर्यटनका कारण केही व्यवसायीले काम पाएका छन् । पर्यटनका केही गतिविधिमा नेपालीहरूको सहभागिता बढेको छ । हिमाल आरोहणदेखि प्याराग्लाइडिङसम्म नेपालीहरूको भीड नै जस्तो देखिन्छ । नेपालीहरूको पर्यटनप्रति मोह निकै बढेको कुरा मानहुँकोटमा उर्लिएको भीडबाट थाहा पाउन सकिन्छ । मानहुँकोटमा कुहिरोको दृश्यमा लोभिएरै एकै दिनमा १० हजार त्यहाँ पुगेपछि अहिले त्यहाँ दैनिक ३०० जनालाई मात्रै जान दिने व्यवस्था गर्ने त्यहाँको स्थानीय सरकारले बताएको छ । नेपालमा मानहुँकोटजस्ता सुन्दर दृश्य देखिने ठाउँ थुप्रै छन् । डाँडाकाँडाले भरिएका प्रत्येक थुम्कामा यस्ता विशेषता पाइन्छन् । यसले आन्तरिक र बाह्य दुवै पर्यटन लोभ्याउनेमा कुनै शंका छैन । तर, नेपालको आन्तरिक पर्यटन बजार असाध्यै अव्यवस्थित छ । कोरोनाको यस विषमा अवस्थामा नेपालीहरूको पर्वतारोहणमा गएका छन्, पदयात्रामा निक्लिएका छन् । विगतमा विदेशी पर्यटकले मात्रै उपयोग गर्ने पर्यटन सेवा अहिले नेपालीहरूले लिइरहेका छन् । यसले नेपालका आन्तरिक पर्यटक पनि विदेशीसरह खर्च गर्ने सामथ्र्य र शोख भएका पनि छन् भन्ने देखाएको छ । त्यस्तै थोरै खर्चमा भए पनि घुमघाम गर्नुपर्छ भन्ने सोच भएका पनि धेरै नै भएको तथ्य देखिएको छ । यस्तोमा आन्तरिक पर्यटनलाई व्यवस्थित बनाउन व्यवसायीहरूले विशेष रणनीति तय गर्नुपर्ने देखिन्छ । यसका लागि पर्यटन बोर्डको भूमिका बढी अपेक्षित छ ।

आन्तरिक पर्यटनले गति लिन लागेकै बेलामा विभिन्न स्थानीय तहले नेपाली पर्यटकलाई पनि पीसीआर रिपोर्ट चाहिने जस्ता विभिन्न नियम बनाएर समस्या थपिदिएका छन् । यसमा पर्यटन मन्त्रालय र पर्यटन बोर्डले सहजीकरण गरिदिनु आवश्यक हुन्छ । पर्यटन कोरोना फैलाउने माध्यम बन्नु हुँदैन तर पर्यटन व्यवसायलाई धराशयी बनाउनु पनि हुँदैन । यसका लागि आन्तरिक पर्यटनका गतिविधिहरू सञ्चालन गर्न दिइनुपर्छ । सहज आवतजावत र उपयुक्त पर्यटकीय प्याकेज बनाउन सकियो र आन्तरिक पर्यटन सुरक्षित रूपमा सञ्चालन गर्न सकियो भने बाह्य पर्यटकलाई पनि तान्न सकिन्छ । मूल कुरा निषेधाज्ञा जारी भए पनि विगतको जस्तो कुनै पनि हालतमा हुनु हुँदैन । भीडभाड कम हुने गरी तथा संक्रमण नफैलने गरी आन्तरिक पर्यटन चलायमान बनाइराख्नुपर्छ र यसका लागि विशेष नीति तय गरिनुपर्छ ।

लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्