ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रघुगंगाका तीन ओटा वडा जोड्ने सडक आयोजनाको निर्माण शुरु

२०७७ मंसिर, ४  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

मंसिर ४, म्याग्दी । म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमंगले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ । 

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेलाई सडक सञ्जालमा जोड्न आयोजना शुरु गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले चिमखोला र कुइनेमंगलेमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भिरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोड्न लागिएको बताए । 

‘अजिङ्गर भिरमा सडक खन्न यो वर्ष गाउँपालिकाले रू. एक करोड ५० लाख र गण्डकी प्रदेश सरकारले रू. ५० लाख विनियोजन गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘पहिलो चरणमा जलविद्युत् आयोजनामार्फत ‘ट्र्याक’ खोल्ने काम भइरहेको छ ।’ जलविद्युत् आयोजनासँग ट्र्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको छ । 

मौवाफाँट–दग्नाम–दर्मीजा हुँदै चिमखोला जोड्ने सडक रघुगंगा गाउँपालिकाको गौरवको आयोजना हो । मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिर पाँच किलोमिटर र चिमखोलादेखि दर्मीजासम्म करीब चार किलोमिटर सडकको ट्र्याक खुलिसकेको गाउँपालिकाका सब इञ्जिनीयर कमल चोखालले बताए । गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले फरक फरक ठाउँमा काम गर्ने उनले बताए । 

चिमखोला र कुइनेमंगलेमा निर्माणको क्रममा रहेको जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विष्फोटक पदार्थ प्रयोग गरेर चट्टान फुटाउन थालिएको छ । दर्मीजा र दग्नाम दुवैतर्फबाट पाँच ओटा डोजरका साथै मजदूर परिचालन गरेर ट्र्याक खन्ने काम पनि भइरहेको दर्मीजाका अगुवा सुबिन शेरपुञ्जाले बताए । 

‘अजिङ्गर भिरमा करीब एक किलोमटिर ट्र्याक खुलेपछि रघुगंगा–४ दर्मीजा, ७ चिमखोला र ८ कुइनेमंगले सिधा सडक सञ्जालमा जोडिनेछन्’, उनले भने, ‘भिरमा करीब १५० मिटर ट्र्याक खोलिसकिएको छ ।’ गत आर्थिक वर्ष प्रदेश सरकार र संघीय सरकारले पनि दग्नाम–दर्मीजा–चिमखोला सडक आयोजनालाई सडक विनियोजन गरेका थिए । 

विसं २०६७ मा स्थानीयवासी, तत्कालीन जिविस र गाविसको रू. ६० लाख लागतमा निर्माण भएको भगवती, बेग– चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण हुन लागेको हो । 

हाल गाउँमा सडक पुगे पनि स्थानीयवासीले यातायात सुविधा भने पाएका छैनन् । जिल्ला सदरमुकाम बेनी र गाउँपालिकाको केन्द्र मौवाफाँट आउन र फर्कन दग्नाम–दर्मीजाको पैदलमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुइनेमंगलेको खरिबोटका खिमबहादुर छन्त्यालले बताए । 

सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर पाँच/छ घण्टामै बेनी आउन सकिन्छ । दर्मीजा, चिमखोला र कुइनेमंगलेका करीब एक हजार घरधुरी भिरपहरा, जंगल र खोल्साखोल्सीमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ । बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउन जानका लागि पैदलयात्रा गर्नुपर्छ । 

खच्चर, भरिया र ट्र्याक्टरबाट गरिने ढुवानी भाडा महँगो परेको छ । निर्माणाधीन सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि हुनेछ । अजिङ्गर भिरमा सडक बनेपछि सो क्षेत्रको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगंगा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्