ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्पादन तथा प्रशोधन क्षेत्रका पाँच ओटा कम्पनीकै शेयरमूल्य बढ्यो, बोटलर्स नेपालको सबैभन्दा बढी 

२०७७ मंसिर, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ४, काठमाडौं । धितोपत्र दोस्रो बजारमा १९ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरु सूचीकृत भएपनि नियमित कारोबार पाँच कम्पनीको मात्र हुने गरेको छ । 

कात्तिक महीनामा बोटलर्स नेपाल (तराई), हिमालयन डिष्टिलरी, नेपाल ल्यूब आयल, शिवम् सिमेण्ट्स र युनिलिभर नेपालको नियमित कारोबार भएको छ । यी कम्पनीहरुको शेयरमूल्य असोज महीनाको भन्दा बढेको छ । 

यो महीना पाँच ओटा कम्पनीहरुमध्ये बोटलर्स नेपाल (तराई)को शेयरमूल्य सबैभन्दा बढी वृद्धि भएको छ । असोज मसान्तसम्ममा प्रतिकित्ता रू. ६ हजार ५०० रहेको बोटलर्स नेपाल (तराई)को शेयरमूल्य कात्तिक मसान्तसम्म रू. ७ हजार ६७९ पुगेको छ । 

बोटलर्स नेपाल (तराई)को शेयरमूल्य १ महीनामा रू. १ हजार १७९ ले बढेको हो । बोटलर्स नेपाल (तराई)ले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट ४० प्रतिशत नगद लांभांश दिएको थियो । यस कम्पनीले हालसम्म नगदमा मात्र जोड दिंदै आएको छ ।

कात्तिक महीनामा युनिलिभर नेपालको शेयरमूल्य पनि प्रतिकित्ता रू. ९९९ ले बढेको छ । गत वर्षभन्दा यस वर्ष प्रतिफल घटेपनि कम्पनीको शेयर खरीदमा लगानीकर्ताहरुको आकर्षण भने बढेको छ । असोज मसान्तसम्म प्रतिकित्ता रू. १७ हजार ५०१ रहेको युनिलिभर नेपालको शेयरमूल्य कात्तिक मसान्तमा रू. १८ हजार ५०० पुगेको हो । 

गत वर्ष प्रतिकित्ता रू. ७७० नगद लाभांश दिएको युनिलिभर नेपालले यस वर्ष प्रतिकित्ता रू. १०० का दरले लाभांश दिने भएको हो ।

त्यस्तै, कात्तिक महीनामा हिमालयन डिष्टिलरीको शेयरमूल्य पनि प्रतिकित्ता रू. ६१२ ले बढेको छ । असोज मसान्तसम्म रू. १ हजार ८०८ रहेको हिमालयन डिष्टिलरीको शेयरमूल्य कात्तिक मसान्तसम्म रू. २ हजार ४२० पुगेको हो । 

गत वर्ष १०२ दशमलव ६३ प्रतिशत लाभांश दिएको यस कम्पनीले हालसम्म यस वर्षका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले यो वर्ष पनि आकर्षक लाभांश दिनेमा लगानीकर्ताहरु विश्वस्त रहेको देखिन्छ । कात्तिक महीनामा नेपाल ल्यूब आयल र शिवम् सिमेण्ट्सको शेयरमूल्य पनि बढेको छ । 

शिमव् सिमेण्ट्सको प्रतिकित्ता रू. ७४ ले र नेपाल ल्यूब आयलको प्रतिकित्ता रू. २८ ले शेयरमूल्य वृद्धि भएको हो । नेपाल ल्यूब आयलले आर्थिक वर्ष २०७६/७७ को लागि १० प्रतिशत नगद लाभांश र शिवम् सिमेण्ट्सले २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिसकेका छन् ।

उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको मूल्य वृद्धिको स्थिति :

                                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्