ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज : कागजमा सीमा बन्द, नाकाबाट अनियन्त्रित आउजाउ

२०७७ मंसिर, ५  
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । सरकारले कोरोना नियन्त्रणका लागि अन्तरराष्ट्रिय सिमानाबाट हुने आवागमनमा लगाएको रोक अहिलेसम्म औपचारिक रूपमा हटाएको छैन । तर, मुख्य नाका वीरगञ्जबाट मानिसको आउजाउ भने बाक्लै हुने गरेको छ ।

वीरगञ्ज रक्सौल मितेरी पुलबाट दिनहुँ सयौं मानिसको आवागमन भइरहेको छ । सिमानामा खटिएका सुरक्षाकर्मीले मानिसको आवतजावत रोक्न सकेका छैनन् ।

गत भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले कात्तिक ३० गतेसम्म अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने निर्णय गरेको थियो । सरकारले आयातनिर्यात व्यापार र अत्यावश्यक अवस्थामा मापदण्ड पूरा गरेर ११ ओटा नाकाबाट मानिसको आवागमन अनुमति दिएको थियो ।

मङ्सिरयता आवागमन के हुने भन्नेबारेमा सरकारले कुनै निर्णय लिएको छैन । मानिसको आवागमन मापदण्डको पूर्ववत् व्यवस्था कायमै रहेको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘आवागमनलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा गृह मन्त्रालयसित सुझाव मागिएको छ । सिमानाबाट हुने आउजाउ व्यवस्थित बनाउन छठ पर्वलगत्तै नयाँ व्यवस्था लागू हुन्छ,’ प्रमुख जिल्ला अधिकारी तामाङले आर्थिक अभियानसँग भने ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्ने नेपाली, औषधोपचार, औद्योगिक प्रतिष्ठान र निर्माण आयोजनाका कर्मचारीलाई ल्याउन मापदण्ड बनाएको छ । तोकिएको प्रक्रिया पु¥याएर प्रवेश अनुमति दिने व्यवस्था छ ।

भारतले गत कात्तिक ६ गतेदेखि नेपालतर्पmका सिमाना खुला गरेपछि नेपालको मुख्य नाका वीरगञ्जबाट आवागमन बाक्लिएको हो । सिमानामा खटिएका सुरक्षाकर्मीले आउजाउमा नियन्त्रण गर्न सकेका छैनन् । रोक्न खोज्दा स्थानीयसँग विवादसमेत हुने गरेको सुरक्षाकर्मी बताउँछन् ।

वीरगञ्ज नाका कागजमा मात्र बन्द हुँदा स्थानीय र सुरक्षाकर्मी दुवैलाई सकस भएको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता बताउँछन् । औपचारिक रूपमा आउजाउ नखोल्दा स्थानीय र सुरक्षाकर्मी दुवै पक्षलाई समस्या भएको छ ।  

भारततर्फको सिमाना खुला भएपछि नेपालबाट पनि जानेआउने क्रम बढेको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । ‘वीरगञ्जमा कोरोना नियन्त्रणमा आइसकेकाले अब अन्तरराष्ट्रिय सिमानाबाट आवागमनमा समेत सहज मापदण्ड बनाउनुपर्छ,’ प्रमुख सरावगीको भनाइ छ ।

मानिसको आवागमन बढे पनि सवारीसाधनलाई प्रवेश नदिइएको सरावगीले बताए । सवारीसाधन आवतजावतमा रोक लगाउँदा ओर्लिएर हिँड्नु परेको र यसबाट भीडभाड बढेर संक्रमणको जोखिम झन् वृद्धि भएको गुनासो गुप्ताको छ ।

अत्यावश्यकीय कामले आउजाउ गर्नेलाई समेत समस्या भएको उनले बताए । नियमनको सरल र व्यावहारिक मापदण्ड बनाएर सिमाना खुलाउनुपर्ने माग स्थानीयको छ ।

अहिले चाडपर्वका बेला किनमेल गर्न सीमावर्ती भारतीय बजार रक्सौल जाने र फर्किनेको संख्या बढी देखिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

छठलगत्तै अनियन्त्रित आवागमनलाई नियमनको दायरामा ल्याएर व्यवस्थित बनाइने पनि उनले बताए ।

जलाशयमा कडाइ
छठ पर्वमा जलाशयहरूमा भक्तजनको भीडसँगै संक्रमणको जोखिम पनि बढ्ने भएपछि वीरगञ्जको घडिअर्वा पोखरीमा प्रवेशलाई व्यवस्थित गरिने भएको छ । छठका व्रतालु र दौरा बोक्नेलाई मात्र पोखरी परिसरमा जान दिइने र अन्य दर्शनार्थीलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

‘दर्शनार्थी प्रवेश गर्दा अत्यधिक भीड हुने भएकाले व्रतालु र दौरा बोक्नेलाई मात्र पोखरीमा जाने दिने व्यवस्था मिलाइएको छ,’ तामाङले भने । घडिअर्वा शहरको बीचमा रहेकाले बढी भीडभाड हुने जलाशय हो ।

अन्य जलाशय भने नदीकिनार र खुला स्थान भएकाले दर्शनार्थीलाई रोक नलाइए पनि सावधानी अपनाएर पूजा गर्न प्रशासनले आग्रह गरेको छ । यसपटक वीरगञ्जको घडिअर्वासहित महानगरका २६ जलाशयमा छठको पूजा आराधनाको तयारी भइरहेको प्रशासनले बताएको छ ।  

शुक्रवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर अघ्र्य दिन्छन् । शनिवार बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । निष्ठा र भक्तिभावपूर्वक मनाइने सूर्य उपासनाको पर्व छठमा जलाशयमा विशेष पूजा गरिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्