ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बीमाको पहुँच वृद्धि

२०७७ मंसिर, ५  
सम्पादकीय
Image Not Found

नेपालमा २० दशमलव ४ प्रतिशत जनतामात्र बीमाको पहुँचमा पुगेको देखिन्छ । अर्थ मन्त्रालयले जारी गरेको चालू आवको पहिलो त्रैमासिक प्रतिवेदनले बीमाको दायरा बढे पनि ७८ प्रतिशत जनता यसको पहुँच बाहिर रहेको देखाएको छ । केही वर्ष अघिको दाँजोमा भने यो धेरै हो । अझै जनसंख्याको सानो हिस्सामात्र बीमाको दायरामा आए पनि कोरोनाको विपत्तिका बीच बीमा कम्पनीहरूको आम्दानी भने बढ्दो देखिएको छ । यसले नेपालमा बीमाको बजार तीव्र गतिमा बढ्ने सम्भावना रहेको देखाउँछ ।

बीमा व्यवसाय विस्तारमा नयाँ कम्पनीहरू आक्रामक रूपमा लागेको पाइन्छ, जसले गर्दा नयाँनयाँ प्रडक्ट पनि बजारमा आएका छन् । तर, बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा जानै बाँकी छ ।

हरेकजसो देशले आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट बचाउन बीमाका लागि प्रेरित गर्छन् । बीमा त्यस्तो पद्धति हो, जसमा थोरै प्रिमियम तिर्ने बीमित कथंकदाचित् आर्थिक क्षति बेहोर्ने अवस्था पुगेमा त्यस्तो जोखिम बीमामार्फत कम गर्न सक्छन् भने बीमा कम्पनीहरूले धेरै बीमितहरूबाट प्रिमियम संकलन गरी मुनाफा कमाउन सक्छन् । अकस्मात् ठूलो क्षति हुन पुगे सरकारको क्षमताले राहत दिन गाह्रो पर्न सक्छ । सरकारी राहतले क्षतिको केही अंश पनि पूरा गर्दैन । त्यसो हुँदा क्षति भएमा क्षतिपूर्ति पाउने माध्यम बीमा बनेको छ । यो तथ्यलाई बुझे पनि नेपालीहरूमा सकेसम्म बीमा नगर्ने प्रवृत्ति छ । धेरैजसो बीमा बाध्यतावश गरिएको पाइन्छ । यस्तोमा ७८ प्रतिशत जनता बीमाको पहुँच बाहिर हुनु अन्यथा होइन । बीमालेखका आधारमा यो हिसाब निकालिएको हो भने बीमाको पहुँच नपुगेको जनसंख्या योभन्दा निकै बढी हुने देखिन्छ । किनभने एउटै व्यक्तिले जीवन बीमा, सवारी साधन बीमा, घरसम्पत्ति बीमा आदि गरेको पाइन्छ । एउटै व्यक्तिले दुईतीनओटा जीवन बीमा गरेको समेत पाइन्छ । यस्तोमा नेपालमा बीमा व्यवसाय प्रारम्भिक अवस्थामै छ भन्न सकिन्छ ।

बीमा व्यवसाय विस्तारमा नयाँ कम्पनीहरू आक्रामक रूपमा लागेको पाइन्छ, जसले गर्दा नयाँनयाँ प्रडक्ट पनि बजारमा आएका छन् । तर, बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा जानै बाँकी छ । शहरी क्षेत्रमा पनि बीमा गराउनेको संख्या निकै कम देखिन्छ । यसो हुनुमा प्रिमियम बढी हुनु एउटा कारण मान्न सकिन्छ । एउटा मोटरसाइकलको तेस्रो पक्षको बीमा गराउँदा अहिले लिइँदै आएको प्रिमियम वास्तवमा बढी हो । एउटा क्षेत्रमा यसरी बढी प्रिमियम लिँदा आम मानिसमा बीमाप्रति नकारात्मक सोच पैदा भएको समेत पाइन्छ । त्यसो त सरकारले कोरोना बीमा शुरू गरेकोमा प्रारम्भमा यसको प्रशंसा भए पनि दाबी भुक्तानीमा किचलो भएपछि र मापदण्ड परिवर्तन भएपछि बीमाप्रतिको अविश्वास बढेको छ । बीमा कम्पनीहरूले यस्तो अविश्वास पैदा हुने खालको काम नसच्याउने हो भने यसका विस्तार निकै ढिलो हुने सम्भावना देखिन्छ ।

बीमा कम्पनीहरू थपिएपछि प्रिमियममा प्रतिस्पर्धा हुनुपर्ने हो, प्रडक्टमा प्रतिस्पर्धा हुनुपर्ने र बीमा गर्न इच्छुकहरूले प्रतिस्पर्धी प्रिमियममा बीमा गर्न पाउनुपर्ने हो । हो, केही फरक खालका प्रडक्ट आएका त छन् तर तिनले बीमाको बजारलाई प्रतिस्पर्धी बनाउन भने सकेको देखिँदैन । यसबाट नयाँ बजारको खोजीभन्दा पनि सहज बजारमै अस्वस्थ प्रतिस्पर्धा हुने खतरा बढेको छ ।

बीमा गर्नुलाई अनावश्यक बोझ मान्नेहरू निकै पाइन्छन् । नेपालमा बाध्यताका कारण निर्जीवन बीमा गराउनुपरेको भन्नेहरूको ठूलो जमात छ । यस्तो सोच आउनुको कारण बीमा कम्पनी नै हुन् । त्यसैले बीमा बाध्यताले होइन, जोखिम कम गराउन आवश्यक हो भन्ने सोचका साथ बीमा गर्नेको संख्या बढ्नु जरुरी छ । यसो नभए सीमित बीमा बजारमा ग्राहक खोसाखोसको अवस्था नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्