ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उत्तरी नाकामा अवरोध : तीन गुनाभन्दा बढी ढुवानी शुल्क तिरेर जाडोको लुगा आयात

२०७७ मंसिर, ५  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । लामो सयमदेखि रसुवागढी र तातोपानी नाकाबाट सामान आयात गर्न समस्या भइरहँदा व्यवसायीहरूले तीन गुना बढीसम्म भाडा तिरेर जाडो मौसमका लागि लुगा आयात गर्नुपरेको छ ।

दुई नाकाबाट सहज रूपमा सामान आयात गर्न नसकेपछि लत्ताकपडा व्यवसायीहरूले भारतको बाटो हुँदै पानीजहाजबाट सामान आयात गर्दा तीन गुना बढीसम्म भाडा तिर्नुपर्ने अवस्था आएको हो । नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति दिलसुन्दर श्रेष्ठले नेपाल चीन नाकामा भएको अवरोधका कारण व्यवसायीहरू निकै मर्कामा परेको बताए ।

उनका अनुसार यसअघि सामान्य अवस्थामा पानीजहाजबाट सामान आयात गर्दा प्रतिकन्टेनर सामानको ढुवानी शुल्क २ हजार अमेरिकी डलर पथ्र्याे । ‘हाल व्यवसायीहरूले प्रतिकन्टेनर ५ हजारदेखि ६ हजार अमेरिकी डलरसम्म ढुवानी शुल्क तिर्नु परेको छ,’ उनले भने ।

तीन गुनाबढी भाडा तिरेर ल्याएको सामान पनि समयमा आइपुग्दैन । सामान्य अवस्थामा समुद्री मार्गबाट सामान ल्याउँदा १५ दिन लाग्दथ्यो । तर, अहिले २ महीनासम्म पनि लाग्ने गरेको व्यवसायीहरूको भनाइ छ । भनेको समयमा सामान आयात गर्न नसक्दा त्यसको प्रभाव व्यापारमा समेत पर्न गई खुद्रा व्यापारीहरूलाई समयमै सामान उपलब्ध गराउन समस्या भएको उनीहरूको भनाइ छ ।

यति बेला रसुवागढी नाका एकतर्फी रूपमा मात्र सञ्चालनमा छ । यसले गर्दा नेपाली उत्पादन चीनतर्फ निर्यात हुन सकेको छैन भने बन्दाबन्दी अघिदेखि नै व्यवसायीहरूले आयात गरेका करीब १ हजार कन्टेनर सामान अझै नाकामा अलपत्र रहेको छ ।

यस नाकाबाट आजभोलि चिनियाँ पक्षले दैनिक ५ गाडी मात्र सामान नेपाल पठाउने गरेको छ । यसले गर्दा नाकामा महीनौं दिनदेखि थन्किएका सबै कन्टेन्र कहिलेसम्म नेपाल भित्रिसक्छन् भन्ने निश्चित नभएको रसुवागढी भन्सार प्रमुख पुण्य पौडेलले अभियानलाई बताए । जाडो मौसममा विभिन्न किसिमका न्याना ज्याकेट, पाइन्ट, थर्मकोटलगायत भुवादार कपडाको अत्यधिक माग हुने गर्छ । नेपालमा जाडो मौसमका लागि चीनबाट मात्रै करीब ६० प्रतिशत न्यानो लुगाको आयात हुने गर्छ । यसबाहेक युवा, महिला, पुरुष तथा केटाकेटीले गर्ने ड्रेसपको चाहनालाई दृष्टिगत गरी चीन, भारत, थाइल्यान्ड, मलेशिया तथा कोरियाबाट समेत नेपालमा तयारी पोशाकको आयात हुने गर्छ ।

यस वर्ष चीनबाट सामान आयात गर्न कठिनाइ भएका कारण भारत र कोरियाबाट नै व्यवसायीहरूले सामान आयात बढाएको असनका कपडा व्यापारी हेमन्त अधिकारीले बताए ।
लामो समयको बन्दाबन्दीको प्रभावका कारण उपभोक्ताको क्रयशक्ति कमजोर हुन गएकाले यस वर्ष उपभोक्ताहरूको आकर्षण महँगोभन्दा पनि सस्तो मूल्यका लुगामा बढी भएको उनले जानकारी दिए । उपभोक्ताको क्रयशक्तिमा ह्रास आएकै कारण यस वर्षको जाडो मौसममा न्यानो लुगाको विक्री करीब ४० प्रतिशतले घट्न सक्ने व्यापारीहरूको अनुमान छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्