ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाँचथरका तीन हजार घरमा एकैदिन विद्युतीकरणको शुभारम्भ

२०७७ मंसिर, ६  
प्रदेश ०१
Image Not Found

मंसिर ६, पाँचथर । पाँचथर जिल्लामा शुक्रवार एकैदिन तीन हजार घरमा विद्युतीकरणको शुभारम्भ गरिएको छ । मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका दुई हजार ९९० घरमा विस्तार भएको विद्युत्को भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शुभारम्भ गरेका हुन् । 

शुक्रवार जिल्ला आएका उनले अलगअलग पाँच कार्यक्रममा सहभागी भई विद्युतीकरणको शुभारम्भ गरेका हुन् । दुई  गाउँपालिकाका ६ ओटा वडामा विद्युतीकरणको काम पूरा भएपछि शुक्रवार एकैदिन शुभारम्भ सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युत् विस्तार गरिएको हो । 

कुम्मायक – २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालि काठमाडौंले रू. छ करोड ९३ लाख ९४ हजार ४४५ का लागतमा विद्युतीकरणको काम सम्पन्न गरेको छ । 

विद्युत् विस्तारका लागि एचटी लाइन १२ दशमलव ७ किलोमिटर र  एलटी लाइन ६१ दशमलव ९६ किलोमिटर विस्तार गरिएको छ भने चार  ट्रान्सफर्मर राखिएको विद्युत् सहकारीका सचिव रुपेश शेर्माले जानकारी दिए ।

मिक्लाजुङ–१ र २ सराङडाँडाका ८०५ घरमा सराङडाँडा विद्युत् सहकारी संस्थाको अगुवाइमा विद्युतीकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइवा इन्फ्राटेक प्रालिले नै रू. १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतीकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२ दशमलव ३९ किलोमिटर तथा एलटी लाइन ९२ दशमलव ६० किलोमिटर विस्तार गरिएको छ भने १० ट्रान्सफर्मर रहेको विद्युत् सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए ।

मिक्लाजुङकै वडा नं ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत् सहकारी संस्थाको अगुवाइमा यहाँका ८६० घरमा विद्युतीकरणको काम सम्पन्न भएको छ । त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रू. पाँच करोड १२ लाख ७९ हजार २९५ का लागतमा यहाँ विद्युतीकरणको काम सम्पन्न गरेको हो । 

विद्युत् विस्तारका लागि १७ दशमलव ४१ किलोमिटर एचटी लाइन र ५९ दशमलव ३२ किलोमिटर एलटी लाइन विस्तार गरिनुका साथै आठ ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीका अध्यक्ष फणीन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

मिक्लाजुङ–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत् सहकारी संस्थाको अगुवाइ विद्युतीकरणको कार्य पूरा भएको हो । यहाँसमेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इञ्जिनीयरिङ जेभीले रू. चार करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतीकरणको काम पूरा गरेको हो । विद्युत् विस्तारका लागि १५ दशमलव ९५ किलोमिटर एचटी लाइन र ६६ दशमलव ३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ ओटा ट्रान्सफर्मर जडान गरिएको विद्युत् सहकारीले जानकारी दिएको छ । 

लिम्बा र दुर्दिम्बामा विसं २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतीकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतीकरणको शुरुआत भएको प्राधिकरणका इञ्जिनीयर विधान पोखरेलले जानकारी दिए । 

नेपाल विद्युत् प्राधिकरणले विद्युत् विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत् सहकारीले उपभोक्ताबाट कुल लागतको प्रतिशत रकम संकलन गरी विद्युतीकरणको कार्य अगाडि बढाएका थिए । सबै घरमा विद्युतीकरणको कार्य पूरा गरी जिल्लालाई चालू आर्थिक वर्षभित्रै अँध्यारोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए । 

पछिल्लो पटक  प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत् सहकारीबाट काम नभएका स्थानमा प्राधिकरणमार्फत पनि विद्युतीकरण अगाडि बढाइएको छ । उनले शुक्रवार जिल्लाको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा विद्युत् सबस्टेशन निर्माणको शिलान्याससमेत गरेका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्