मंसिर ६, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले अमेरिकी नियामकसँग कोभिड–१९ विरोधी खोपको आपतकालीन प्रयोगका लागि अनुमति मागेको छ ।
फाइजर र जर्मन बायोप्रविधि कम्पनी बायोएनटेकले शुक्रवार अमेरिक खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई सो आवेदन दिएका हुन् । प्रयोग गर्न खोप सुरक्षित छ या छैन भन्ने निर्णय एफडीएले गर्नेछ । खोपको परीक्षणसम्बन्धी तथ्यांक अध्ययन गर्न एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन ।
यद्यपि डिसेम्बर महीनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । अन्तिम चरणको परीक्षणमा खोप ९४ प्रतिशत प्रभावकारी पाइएको थियो ।
एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो केही घण्टाभित्रै खोप वितरण गर्न आफूहरु तयार रहेको फाइजर र बायोएनटेकले बताएका छन् । एजेन्सी