ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज भन्सारको राजस्वमा सुधार

२०७७ मंसिर, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । कोरोना माहामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि आयातनिर्यात कारोबारमा सुधार आएको छ । वैदेशिक व्यापार बढेसँगै वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।

आयातनिर्यात परिमाणका आधारमा मुख्य नाकाको वीरगञ्ज भन्सारले कात्तिक महीनाका लागि साढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो । यो १ महीनामा १३ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

पेट्रोलियम पदार्थ र गाडी आयातमा सुधार आएकाले कात्तिकमा राजस्व पनि बढेको भन्सार अधिकृत सुकमनीले बताए । ‘पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ऋणात्मक भए पनि कात्तिकमा केही सुधार देखिएको छ । तयारी कपडा, भटमासको कच्चा तेल, एचआरसीटजस्ता वस्तुको आयात बढेको देखिन्छ,’ उनले आर्थिक अभियानसँग भने ।

बन्दाबन्दी र निषेधाज्ञामा यो भन्सारबाट दिनमा १५० गाडी मालसामान भित्रिने गरेको थियो । अहिले यो संख्या करीब ७०० पुगिसकेको छ । मालसामानको परिमाण हेर्दा वीरगञ्जबाट हुने आयातनिर्यात सामान्य अवस्थामा फर्किइसकेको मान्न सकिने भन्सारका अधिकारीहरू बताउँछन् । सुक्खा बन्दरगाह भन्सारबाट समेत दैनिक ३०० सयको हाराहारीमा कन्टेनर बाहिरिने गरेका छन् । बोराबन्द र फलामको कार्गो पनि बढिरहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत जगदीश पुर्वे बताउँछन् ।   

तर, चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिका लागि वीरगञ्ज भन्सारले लिएको राजस्व लक्ष्य भने पूरा भएको छैन । चालू आर्थिक वर्षको भदौ र असोजमा लक्ष्यअनुसार राजस्व नउठ्दा चौमासिक प्रगतिमा नकारात्मक प्रभाव परेको भन्सारले बताएको छ ।

साउनदेखि असोजसम्मको ३ महीनामा लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाउँछ ।

आर्थिक वर्षको पहिलो महीनामा भने भन्सारले लक्ष्य भेट्टाएको थियो । साउनमा लक्ष्यभन्दा करीब २२ प्रतिशत बढी राजस्व उठेको भन्सारको तथ्यांकमा उल्लेख छ । सरकारले असारको दोस्रो सातादेखि बन्दाबन्दी केही खुकुलो बनाएपछि त्यसको प्रभाव साउनको व्यापारमा देखिएको थियो । साउनको दोस्रो सातादेखि ५० भन्दा बढी जिल्लामा लगाइएको निषेधाज्ञाले भदौ र असोजमा वैदेशिक व्यापार खुम्चिएको भन्सारले बताएको छ ।

दुई महीना व्यापार शिथिल भएपछि साउनदेखि कात्तिकसम्मको चौमासिक राजस्व लक्ष्य प्रभावित भएको भन्सारका अधिकारीहरू बताउँछन् । यो ४ महीनामा वीरगञ्ज भन्सारले ४५ अर्ब ८३ करोड रुपैयाँको लक्ष्य पाएको थियो । यो अवधिमा ४३ अर्ब ६७ करोड रुपैयाँ संकलन भएको छ । यो रकम लक्ष्यको ९५ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को समीक्षा अवधिमा यो भन्सारले लक्ष्यको ९७ प्रतिशत राजस्व उठाएको थियो । तर, चालू वर्षको समीक्षा अवधिका लागि राजस्व लक्ष्य नै ६ अर्ब रुपैयाँले घटाइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्