ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

३ हजार मेटन क्षमताको चिस्यान केन्द्र निर्माण गरिँदै

२०७७ मंसिर, ७  
प्रदेश ०५
NA

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा ३ हजार मेट्रिक टन (मेटन) क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरू गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर उक्त क्षमतामा चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताए ।     

साइट अफिस, कम्पाउण्ड वाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले जानकारी दिए । आउँदो पुस महीनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उनले बताए ।

जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठओटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर सामग्री राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतको भनाइ छ ।

रू. २० करोड लागतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । ‘प्रवासबाट आर्जित शीप, ज्ञान र पूँजी स्वदेशका लागि’ नारासहित विदेशबाट फर्किएका नेपालीको पहलमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको बताइएको छ ।

१८ कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताए । कृषि उपजको वृद्धिका लागि किसानलाई  तालीम र बीउबीजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने उनले जानकारी दिए ।

जिल्लामै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि उत्साहित छन् । चिस्यान केन्द्र स्थापनापछि भण्डारण गर्न मिल्ने कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुने मध्यविन्दु नगरपालिकाका कृषक हरि ढकालले बताए ।

जिल्लामा उत्पादन हुने आलु, सुन्तला, अमिलो, प्याजलगायत कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा विक्री गरी अम्दानी बढाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजोन कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्