ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना कहरले फेरियो व्यवसाय

२०७७ मंसिर, ७  
सुदूरपश्चिम प्रदेश
NA

महेन्द्रनगर । २ दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्त नगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा बितेका ८ महीनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि उनले व्यवसाय परिवर्तन गरेर जीविकोपार्जन गर्ने योजनाअनुरूप कागतीखेती, कुखुरा र बाख्रापालनमा लागेको बताए ।

‘टेन्ट भाडामा दिएर वार्षिक १८ देखि २० लाखसम्मको कारोबार हुन्थ्यो,’ सञ्चालक जोशीले भने, ‘टेन्टका कर्मचारी पाल्न र जीविका चलाउन पनि अन्य व्यवसाय गर्नुको विकल्प भएन ।’ बिहेको मौसम आए पनि टेन्ट भाडाको कुनै व्यापार नरहेको उनले बताए ।

२०५६ देखि महेन्द्रनगरमा टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले आफूले यस्तो महाकष्टको सामना गर्नुपर्छ भनेर कल्पनासमेत नगरेको बताए । ‘टेन्ट भाडामा नगएको ८ महीना भयो,’ उनले भने, ‘अन्यत्रको व्यापारले सघाउ पुग्ने आशा छ ।’ जोशीले १० वर्षका लागि वार्षिक रू. ८५ हजार भाडा तिर्नेगरी ३ बिगाहा जमीन भाडामा लिइएको बताए ।
कोरोना संक्रमण बढिरहेकाले पुरानै अवस्थामा फर्किन समय लाग्ने देखेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाका प्रकाश जोशी पनि भैंसीपालनको तयारीमा जुटेका छन् । गुलरियामा मालिकार्जुन टेन्ट हाउस सञ्चालन गर्दै आएका जोशीले कोरोनामा व्यापार नहुँदा बैंक किस्ता तिर्न पनि गाह्रो भइरहेको बताए । ‘विकल्पका रूपमा यहाँ भैंसीपालन शुरू गरेको छु,’ उनले भने । कृषिलाई व्यावसायिक रूपमा अघि बढाउँदै लैजाने योजना उनको छ ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने पनि अधिकांश कृषि, व्यापार र व्यवसायमा लागिरहेका छन् । एघार वर्ष दुबईमा काम गरेर कोरोना कहरबाट घर फर्किएका शुक्लाफाँटा नगरपालिका–१ का पदम सिंहले पनि माछापालन, कुखुरा र बाख्रापालनको थालनी गरेका छन् । ‘कोरोना कहरमा कम्पनी नै बन्द भए पनि यहाँ आएर आयमूलक व्यवसायमा लाग्न बडिमालिका पशुपक्षी, मत्स्य विकास फार्म दर्ता गरेर अघि बढेको छु,’ सिंहले भने, ‘यसका लागि बैंकबाट ऋण लिइरहेको छु ।’ उक्त व्यवसायका लागि शुरुआतमा रू. २० लाखभन्दा बढी लगानी भएको उनले बताए । शुक्लाफाँटा–२ मा उनले एघार कठ्ठामा उक्त व्यवसाय सञ्चालन गरिरहेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले पछिल्लो समय कृषि र पशुपक्षी व्यवसाय गर्ने युवा उद्यमीको संख्या बढिरहेको बताए । ‘कोरोनाले गर्दा अहिले स्थानीयस्तरमै केही गरौं भन्ने भावना देखिएको छ,’ सिंहले भने, ‘मन्त्रालयबाट पनि आयमूलक कृषि व्यवसायमा लाग्ने युवालाई सम्बोधन गर्नू भन्ने स्पष्ट निर्देशन छ ।’ कोरोना प्रभावित युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले लिएको आवेदनमा कृषितर्फ मात्रै एक हजार २०० भन्दा बढी युवाले आवेदन भरेको जानकारी उनले दिए । ‘यहाँ पशुपक्षीपालनतर्फ अझ बढी युवा आकर्षित भएको आवेदनबाट देखिएको छ,’ उनले भने, ‘यस्तै कोरोना प्रभावित भएर आएका १५ जना युवालाई दातृ निकायको सहयोगमा च्याउखेती तालीम दिइरहेका छौं ।’

स्वदेशमा रोजगारी नभएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको संख्या तिहारपछि झन् बढिरहेको छ । प्रदेश सरकारले ९ हजार जनालाई कृषितर्फ स्वरोजगार बनाउने लक्ष्यसहित लिएको आवेदनमा ८२ हजारभन्दा बढीले आवेदन दिएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्