ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उद्योग वाणिज्य महासंघ चुनाव : ३ जनाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतले लेखे ‘नोट अफ डिसेन्ट’

२०७७ मंसिर, ७  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा विधानविपरीत उम्मेदवारी परेको भन्दै निर्वाचन अधिकृत रमणकुमार कर्णले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठसहित ३ जनाको उम्मेदवारी रद्द गर्न ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

एउटा संघबाट एक जना मात्रले उम्मेदवारी दर्ता गराउन पाउने कानुनी व्यवस्था भए पनि औषधी उत्पादक संघबाट दुई जनाको उम्मेदवारी परेको भन्दै उनले एक जनाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित नोट अफ डिसेन्ट लेखेका हुन् ।

महासंघको आसन्न चुनावका लागि औषधी उत्पादक संघबाट उमेशलाल श्रेष्ठ र दीपक दाहालले उम्मेदवारी दर्ता गराएका छन् । यीमध्ये एक जनाको उम्मेदवारी रद्द गरिनुपर्ने उनले बताए । उनले भने, ‘विधानअनुसार एक संघबाट एक जनाले मात्र उम्मेदवारी दिन पाइन्छ । एक जनाले उम्मेदवारी फिर्ता लिनुपर्छ, नत्र दुवैको उम्मेदवारी खारेज हुने कानुनी प्रावधान छ ।’

विधानविपरीत उम्मेदवारी परेकाले आफूले नोट अफ डिसेन्ट जारी गरेको उनको भनाइ छ ।

यस्तै, महासंघको विधानअनुसार कुनै संघमा आबद्ध सदस्यले कम्तीमा एक कार्यकाल पूरा गर्नुपर्ने भए पनि रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको एकै कार्यकाल पूरा नभई उम्मेदवारी परेकोमा उक्त उम्मेदवारी पनि खारेज हुनुपर्ने उनको भनाइ छ ।

महासंघको चुनावमा श्रेष्ठले वस्तुगत उपाध्यक्षका लागि र दाहाल र न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १३ गते महासंघको नयाँ नेतृत्वका लागि हुने चुनावमा वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल प्यानलसहित प्रतिस्पर्धा गर्दै छन् ।

चन्द्र ढकाल समूहलाई निर्यात व्यवसायी महासंघको साथ
निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको समूहलाई सहयोग गर्ने
भएको छ ।

निर्यातजन्य उद्योग व्यवसायका क्षेत्रमा सक्रिय वस्तुगत संघहरूले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सोही समूहका वस्तुगततर्फका सदस्यका उम्मेदवारलाई शनिबार काठमाडौंमा स्वागत कार्यक्रम राखेरै सहयोग गर्ने घोषणा गरेको हो ।

फिनअन्तर्गतका ११ वटा वस्तुगत संघका अध्यक्षहरूले ढकाल समूहलाई मतदान गर्ने निर्णय भएको निर्यात व्यवसायी एवं फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले जानकारी दिए ।

फिनमा नेपाल गलैंचा निर्यात संघ, गार्मेन्ट एसोसिएसन, नेपाल पस्मिना उद्योग संघ, नेपाल हाते कागज संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाललगायतका निर्यात क्षेत्रका ११ वटा संस्था आबद्ध छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुआती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको र फिनभित्रकै सदस्यको रुपमा रहेकाले यस क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्