ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नलगाड जलविद्युत् आयोजनाबारे दुई मन्त्री र मुख्यमन्त्रीबीच छलफल

डीपीआरको काम तत्काल सक्न ऊर्जामन्त्रीको निर्देशन

२०७७ मंसिर, ७  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाजरकोटमा बन्न लागेको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम तत्काल सक्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । ४१७ मेगावाटको उक्त आयोजनाको विषयमा शनिवार भएको छलफलमा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।

आयोजनाको विषयमा मन्त्री पुनले जाजरकोटका प्रतिनिधिसभा सदस्यसमेत रहेका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा मन्त्रालयका सह–सचिव प्रवीणराज अर्याल, नलगाड हाइड्रोपावर कम्पनीका अध्यक्ष मोहनराज पन्त र कार्यकारी अधिकृत रामगोपाल लगेजुसँग छलफल गरेका थिए । सो छलफलमा मन्त्री पुनले तत्काल डीपीआरको काम सक्न निर्देशन दिएका हुन् ।

उक्त आयोजनाको डीपीआर बनाउने काम ४ वर्षअघि नै शुरू भएको हो । तर, अझै पनि काम अघि नबढेको बताइएको छ ।

एमडब्ल्यूएच कन्सल्टेन्टले ३२ महीनाभित्रै डीपीआर सक्नेगरी कम्पनीसँग सम्झौता गरेको थियो । त्यसयता पटकपटक म्याद थप हुँदै आएको छ । सोही सन्दर्भमा मन्त्री पुनले डीपीआरको काम तत्काल सकेर आयोजना निर्माण थाल्नुपर्नेमा जोड दिएका छन् ।

नलगाड आयोजनाले क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्ने र यो कर्णालीको विकासमा कोसेढुंगा हुने मन्त्री पुनको भनाइ थियो । आयोजना निर्माणका लागि वैदेशिक लगानी जुटाउन सरकार प्रयासरत रहेको पनि उनले बताए । जापानी सहयोग नियोग (जाइका)ले नलगाडमा लगानीको इच्छा देखाएको भन्दै उनले विभिन्न चरणमा मन्त्रालय र जाइकाबीच लगानीबारे संवाद भइरहेको जानकारी दिए ।

यस्तै, वन तथा वातावरणमन्त्री बस्नेतले जाजरकोट र समग्र कर्णालीको मुहार फेर्ने आयोजना निर्माणमा ढिलाइ हुन नहुने बताए । सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा सदस्यको हैसियतमा आफूले आयोजना निर्माणको काम अघि बढाउन संघ, प्रदेश, स्थानीय तह र स्थानीय प्रभावित क्षेत्रका जनताबीच समन्वयको काम गर्ने उनको भनाइ छ ।

यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आयोजना निर्माणमा आवश्यक सबै प्रकारको समन्वय गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गरे । यसैगरी कम्पनीका अध्यक्ष पन्तले कन्सल्टेन्टसँग समन्वय गरेर डीपीआरको काम तत्काल सक्ने बताए । नलगाड गाउँपालिका–७ दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत्गृह निर्माण हुनेछ । आयोजना अन्तर्गत ६ किलोमिटर लामो जलाशय, २१० मिटर अग्लो ड्याम तथा ८ दशमलव २ किलोमिटर लामो सुरुङ बन्नेछ । बाँधस्थलदेखि विद्युत्गृहसम्मको पहुँच मार्ग निर्माण यसअघि नै सकिएको छ ।

यस्तै, कुल ४ हजार ६०५ रोपनी जमीनका लागि वितरण गरिनुपर्ने २ अर्ब ७६ करोड मुआब्जामध्ये २ अर्ब ५० करोड  वितरण सकिएको छ । ठूलो भेरी नदीको शाखा नदीमा आधारित रहने आयोजना निर्माणका लागि १ खर्ब ४२ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्