ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजारमा सचेत लगानीकर्ता

२०७७ मंसिर, ७  
सम्पादकीय
Image Not Found

बिहीवार शेयर कारोबार रकमले ऐतिहासिक उचाइ कायम गर्‍यो । बजारमा एकै दिन रू. ६ अर्ब ११ करोडभन्दा बढीका शेयर किनबेच भयो । केही समय अगाडि साप्ताहिक कारोबारसमेत ६ अर्ब नपुगेकोमा अहिले दिनकै यति धेरै कारोबार भइरहँदा शेयर बजारमा खुशीयाली छाएको छ । कारोबार रकमसँगै शेयरबजार सूचक नेप्से पनि उकालो लागिरहेको छ र बजार बुलतर्फ अग्रसर भइरहेको देखिन्छ ।

शेयरबजारमा बढी पैसा आएको देखिए पनि अन्य क्षेत्रमा लगानी बढेको देखिएको छैन । यस्तोमा समग्र अर्थतन्त्रमा सुधार आएमात्र शेयरबजारको वृद्धि टिकाउ हुन सक्छ ।

तर, यो वृद्धिबाट खुशी हुनुपर्ने ठोस कारण भने देखिँदैन । अर्थतन्त्रमा सबैजसो सूचक नकारात्मक छन् । कोरोनाका कारण सृजित समस्या केही समाधान हुने हो भने जसरी यो उकालो लागेको छ झर्ने सम्भावना पनि उत्तिकै छ । शेयरबजार उकालो लाग्नुमा कम्पनीहरूको मुनाफा वृद्धि हुनु कारण होइन न त समग्र अर्थतन्त्रमा कुनै परिवर्तन हुन लागेको संकेत नै कारण हो । खासमा अहिले लगानीका लागि पैसा उपलब्ध भएकाले कारोबार रकम यसरी बढेको हो ।
 
कोरोना महामारीका कारण धेरैको आम्दानी घटे पनि निरन्तर पारिश्रमिक पाइरहने सरकारी कर्मचारीलगायतले लगानी गरेको देखिन्छ । उनीहरूको बचत बढेको छ र बचतमा पाइने ब्याजदर अत्यन्त न्यून छ । त्यसैले अघिल्ला आर्थिक वर्षहरूमा भन्दा मुनाफा घटेको विवरण सार्वजनिक गरेका कम्पनीहरूको शेयर मूल्यसमेत बढेको छ । युनिलिभर लगायतका कम्पनीको नाफा घटे पनि शेयर मूल्य बढेको पाइन्छ । अहिले लगानीका लागि अन्य अवसर प्राप्त नभएकाले बचत रकम न्यून ब्याजदरमा बैंकमा राख्नभन्दा सस्तोमा शेयर उठाउन फाइदा देखेर लगानीकर्ताले शेयर उठाइरहेको देखिन्छ ।

अहिले कोभिड भ्याक्सिनको आविष्कार भएको समाचारले विश्वभर शेयरबजार बढिरहेको छ । सुनको मूल्यमा कमी आउन थालेको छ । यसले मानिसहरू अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वासमा लागेको देखिन्छ । यद्यपि नेपालमा भने यस्तो कारणले शेयरबजारमा लगानी बढेको हो भन्न सकिने अवस्था छैन ।

शेयरबजारले नरुचाएका डा. युवराज खतिवडा अर्थमन्त्रीबाट हट्नु र अर्थमन्त्रीमा विष्णु पौडेलको आगमन हुनुलाई पनि शेयरबजार बढ्नुको कारण मानिएको छ । खतिवडा बजारप्रति नकारात्मक भएको र पौडल सकारात्मक रहेको सोचाइ लगानीकर्तामा पाइन्छ । यस तथ्यमा आंशिक सत्यता छ ।

अहिले बैंकको ब्याजदर निकै तल झरेको छ । बैंकहरूको लगानीको क्षेत्र संकुचित हुँदा उनीहरूले शेयर धितोपत्रमा कर्जा प्रवाह बढाइरहेका छन् । त्यसले पनि शेयरबजारमा लगानी रकम बढेको देखिन्छ ।

शेयरबजारमा केही सुधार हुन बाँकी छ तर पनि अहिले भएका सुधारले पनि बजारलाई गति दिन निकै भूमिका खेलेको देखिन्छ । खासगरी, अनलाइनबाट कारोबार हुने भएकाले सक्रिय लगानीकर्ता बढेको अनुमान छ । हाल १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताहरू अनलाइन कारोबार प्रणालीमा आबद्ध भएका छन् र ८४ प्रतिशत कारोबार अनलाइनमार्फत हुने गरेको छ । लगानीकर्ता र किनबेच बढेसँगै नेप्सलेको सिस्टममा सुधार गर्नुपर्ने पनि देखिएको छ । यही गतिमा कारोबार बढ्दै गए सिस्टमले धान्न गाह्रो पर्ने देखिन्छ । अहिले नै कुनै आईपीओ खुल्दा मेरो शेयर नखुलेर समस्या हुने गरेको छ । नियामकीय क्षमता बढाउनुपर्ने आवश्यकता झन् बढेको छ ।

शेयरबजारमा सकारात्मक पक्ष के छ भने विगतमा जस्तो लहैलहैमा लागेर पैसा लगानी गर्नेको संख्या कम भएको अनुमान छ । बजार बुझेर र विश्लेषण गरेर लगानी गर्नेको संख्या बढेको देखिन्छ । यसो हुनुचाहिँ बजार परिपक्व बन्दै गएको छ भन्ने कुराको संकेत हो ।
 
शेयरबजारमा सुधारका काम अझै बाँकी छन् । तिनलाई गति दिन आवश्यक छ । शेयरबजारमा बढी पैसा आएको देखिए पनि अन्य क्षेत्रमा लगानी बढेको देखिएको छैन । यस्तोमा समग्र अर्थतन्त्रमा सुधार आएमात्र शेयरबजारको वृद्धि टिकाउ हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्