ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दिगो र सबल लघुवित्तका लागि वित्तीय साक्षरता

२०७७ मंसिर, ७  
लेख | दृष्टिकोण
Image Not Found

तेह्रौं योजनाको रणनीतिक उद्देश्यमा ‘देशभर बैंकिङ शिक्षा तथा वित्तीय साक्षरतामार्फत जनतालाई बैंकिङ कारोबारसम्बन्धी बानी बढाउने’ भन्ने उल्लेख भएपश्चात् औपचारिक रूपमा वित्तीय साक्षरता कार्यक्रमको शुरुआत भएको हो । त्यसपछि नेपाल सरकारले जारी गरेको नेपाल वित्तीय क्षेत्र विकास रणनीति, २०१७, राष्ट्र बैंकको रणनीतिक योजना र हरेक वर्ष जारी गरिने मौद्रिक नीति, निर्देशनहरू, वार्षिक कार्यक्रमले वित्तीय सारक्षता कार्यक्रमलाई जोड दिँदै आएको पाइन्छ । यसका साथै, राष्ट्र बैंकले विद्यार्थीसँग नेपाल राष्ट्र बैंक, वित्तीय साक्षरतासम्बन्धी श्रव्यदृश्य कार्यक्रमहरू तथा प्रकाशनहरूमार्फत वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको पाइन्छ ।

सामान्य अर्थमा वित्तीय साक्षरता भन्नाले पैसाको विवेकपूर्ण तरीकाले व्यवस्थापन गर्नु भन्ने बुझिन्छ । व्यक्तिको शैक्षिक योग्यता र चेतनास्तर, उमेरसमूह, आर्थिक अवस्था, उपलब्ध वित्तीय उपकरणहरू, बैंकिङ कारोबारको प्रकृति र मात्रा आदिले वित्तीय साक्षरताको स्तर निर्धारण गर्छ । अर्थात् वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको स्वरूप, ढाँचा र तरीका मानिसको अवस्थाअनुसार निर्धारण हुने गर्छ । वित्तीय साक्षरताले बचतलाई उत्साहित गर्ने, आवश्यकताअनुसार ऋण लिई सोको सदुपयोग गर्ने, सम्भावित जोखिम न्यून गर्नका लागि बीमा गर्ने, विप्रेषणको सही प्रयोग गर्नेजस्ता विषयलाई समेटेको हुन्छ भने प्रविधिको विकासले ल्याएको विभिन्न वित्तीय उपकरणको उचित प्रयोग गरी सम्भावित हानी नोक्सानीबाट सुरक्षित रहने विषयलाई पनि समेटेको हुन्छ ।

राष्ट्रिय/अन्तरराष्ट्रिय परिवेश, नियामकीय निकायको नीति, निर्देशन आदिलाई आधार बनाई संस्थाले तयार गरेको कार्यविधिबमोजिम लघुवित्तले समाजको तल्लो तहमा रही वित्तीय पहुँचबाट विमुख रहेका गरीब तथा न्यून आय भएका सर्वसाधारणलाई विनाधितो सामूहिक जमानीमा वित्तीय सेवा प्रदान गर्ने गर्छ । सामान्यतया यस वर्गको वित्तीय कारोबारसम्बन्धी ज्ञान कमजोर हुने भएकाले सदस्य बनाउने क्रममा नै उनीहरूलाई आधारभूत तहको वित्तीय शिक्षा दिने गरिन्छ । यसका साथै समयसमयमा संस्थाले प्रदान गर्ने वित्तीय साक्षरताले बचत, कर्जा, ब्याजदर, भुक्तानी तालिका, खराब कर्जा, कर्जाको दुरुपयोग भएमा हुने हानि नोक्सानी, कर्जाको सुरक्षणजस्ता विषयमा जानकारी प्राप्त गर्न सक्छन् । यसले गर्दा आफूमा भएको वित्तीय कारोबारसम्बन्धी अन्योल हट्न गई उनीहरू लघुवित्तीय सेवाप्रति आकर्षित हुने गर्छन् ।

संख्यात्मक वृद्धिसँगै लघुवित्त क्षेत्रमा बढ्दै गएको अस्वस्थ्य प्रतिस्पर्धाले गर्दा आधारभूत तहको वित्तीय साक्षरता कार्यक्रमले प्राथमिकता पाउन छोडेको पाइन्छ । प्रतिस्पर्धात्मक वातावरणमा संस्थाद्वारा निर्धारण गरिएको लक्ष्य प्राप्ति गर्ने उद्देश्यले बढीभन्दा बढी सदस्यलाई आफ्नो संस्थामा आबद्ध गराउने र उनीहरूलाई कर्जा प्रवाह गरी नाफा वृद्धि गर्ने प्रवृत्ति अधिकांश लघुवित्त वित्तीय संस्थाहरूमा देखिन थालेको छ । सदस्य बनाउने क्रममा नै आधारभूत तहको वित्तीय साक्षरतासम्बन्धी तालीम कार्यक्रम प्राथमिकतामा नपरेका कारण ऋणीले कर्जाको सदुपयोग गर्न ध्यान नदिने, भुक्तानी तालिकाबमोजिम कर्जा भुक्तानी नगर्ने, लघुकर्जामा ठेकदारी प्रथाको अवलम्बन गर्नेजस्ता कार्यहरू भएको देखिन्छ । लघुवित्तीय सेवामार्फत लक्षित वर्गलाई स्वरोजगार बनाई उनीहरूको आर्थिक सामाजिक पक्ष सबल बनाउने मूल उद्देश्य भए तापनि पछिल्लो समय कर्जाको सदुपयोग हुनेतर्फ आशंका पैदा भएको छ । कर्जा लिनकै लागि लघुवित्तमा सदस्य बन्ने, चाडपर्व र सामाजिक कार्यक्रमका लागि कर्जा लिने प्रवृत्तिले कर्जाको ठूलो अंश उपभोग र व्यक्तिगत तथा सामाजिक प्रयोजनका लागि प्रयोग हुन सक्ने सम्भावना रहेको छ । यस्तो प्रवृत्तिले लक्षित वर्गको आर्थिक सामाजिक अवस्थामा सुधार नआउने र लघुवित्त संस्थाहरूलाई कर्जाको गुणस्तर कायम राख्न मुश्किल पर्ने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरेको यस वर्षको निर्देशनमा वित्तीय साक्षरता सम्बन्धमा थोक कर्जा उपलब्ध गराउने लघुवित्त संस्थाले ग्राहक संरक्षण कोषमा जम्मा हुने रकम ग्राहक संस्था र उक्त संस्थाका सदस्यहरूका लागि वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रममा खर्च गर्न सक्ने, वित्तीय संस्थाले वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालीमहरू सञ्चालन गरी वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि सामाजिक उत्तरदायित्व कोषको ५ प्रतिशत रकम खर्च गर्नुपर्ने, वित्तीय संस्थाले उपलब्ध गराउने वित्तीय उपकरण, सोसँग सम्बद्ध शुल्क, कमिशन, ब्याजदर, जरीवाना, हर्जाना आदिको प्रक्रिया र शर्तहरूलाई पारदर्शी बनाई ग्राहक सदस्यको संरक्षण गर्न र वित्तीय कारोबारलाई पारदर्शी र गुणस्तरीय बनाउन वित्तीय साक्षरता कार्यक्रमलाई जोड दिनुपर्ने विषयलाई समेटिएको छ । त्यसैगरी यस वर्षको मौद्रिक नीतिले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकबाट तयार पारिएको वित्तीय साक्षरता ढाँचाको कार्यान्वयन गरिने कुरा उल्लेख गरेको छ । यसका साथै लघुवित्त संस्थाले वित्तीय साक्षरतासम्बन्धी नीतिलाई कार्यान्वयनमा ल्याएको पाइन्छ ।

लघुवित्तमा सदस्य बनाउने क्रममा अनिवार्य समूह तालीम (सीजीटी)मा नै आधारभूत तहको वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरीनुपर्छ । संस्थाको प्रगति प्रतिवेदनलाई राम्रो बनाउन, नियमकीय निर्देशन र संस्थाको नीतिको कागजी पालनाले वित्तीय साक्षरता कार्यक्रमलाई मूर्तरूप दिन सक्दैन । यस्तो प्रवृत्तिले अन्ततः लघुवित्त क्षेत्रलाई नै कमजोर बनाउँछ । वितगको समीक्षा गर्दै प्रभावकारी रूपमा सञ्चालन गरिने वित्तीय साक्षरता कार्यक्रमले आबद्ध भइरहेका सदस्यलाई बचत, कर्जा, बीमा, विप्रेषणलगायतको सही व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ भने समुदायमा रहेका लक्षित वर्गलाई लघुवित्तमा आबद्ध हुन प्रेरित गराउँछ । यसले गर्दा उच्च ब्याजदरमा अनौपचारिक क्षेत्रबाट कर्जा लिई साहूको जालसाझीपूर्ण व्यवहारका कारण झन्झन् गरीब बन्दै गएका लक्षित वर्गले गुणस्तरीय वित्तीय सेवा प्राप्त गर्न सक्ने, लघुवित्त संस्थाको दिगो विकास हुने, कर्जाको गुणस्तर कायम रहने र सरकारको गरीबी न्यूनीकरणको उद्देश्य प्राप्तीमा सहयोग पुग्ने देखिन्छ । तसर्थ लघुवित्त क्षेत्रलाई दिगो र सबल बनाउन नेपाल सरकार, राष्ट्र बैंक, लघुवित्त संस्था, ग्राहक सदस्य, नेपाल लघुवित्त बैंकर्स संघलगायतले वित्तीय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी ढंगले सञ्चालन गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने देखिन्छ ।

लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्