ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भाग्यमानी नेप्से परिसूचक

लगानीमा सचेत हुनुपर्ने समय

२०७७ मंसिर, ७  
लेख | दृष्टिकोण
Image Not Found

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र नराम्रोसँग थलियो । कैयौं देश आर्थिक मन्दीबाट तङ्ग्रिसकेका छैनन् । नेपाली अर्थतन्त्र पनि थलिएकै अवस्थामा छ । अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू सुधार हुन सकेका छैनन् । तर, अर्थतन्त्रकै ऐना मानिएको नेप्से परिसूचक भने यो अवस्थामा भाग्यमानी देखिएको छ ।

२०७३ साउन १२ गते बुधवारका दिन बजार शुरू हुँदा परिसूचक १८६६ दशमलव ३० विन्दुबाट शुरू भई १८८७ दशमलव ८८ विन्दुसम्म पुगेर २ अर्ब २६ करोडको कारोबार भई १४ दशमलव ९५ अंकले वृद्धि भएर नेप्से परिसूचक १८८१ दशमलव ४५ विन्दुमा पुगेर बन्द भएको थियो । त्यो विन्दु आजसम्म कहिल्यै पनि फर्किएर आएन । शेयरबजारमा यो अलटाइम हाई बिन्दु बनेर बसेको छ । लगानीकर्ताको मुखैमा झुन्डिएको त्यो विन्दु सपनाको विन्दु पनि हो । अहिले बजार त्यही विन्दुतिर लम्किँदै गरेको अनुमान गर्न सकिन्छ । त्यसैले लगानीकर्ताहरू उत्साहित भएर कारोबार र रकम दुवै बढिइरहेको छ । हालसम्मकै सबैभन्दा उच्च कारोबार मिति २०७७ मङ्सिर ४ गते ६ अर्ब ११ करोड भएको छ । यो भन्दा पहिले मिति २०७६ फागुन १८ गते ४ अर्ब ८४ करोडको कारोबार भएको थियो । तिहार बिदापछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक २३ दशमलव ३२ अंकले वृद्धि भई परिसूचक १७४१ दशमलव ८१ विन्दुमा पुग्यो भने दोस्रो दिन मङ्सिर ४ गते ३६ दशमलव ३२ अंकले वृद्धि भई परिसूचक १७७८ दशमलव १२ पुगेको छ । यसरी हेर्दा अब १८८१ को अलटाइम हाई विन्दु छुन मात्र १०३ अंक बाँकी छ । यो अंक बराबर त नेप्से परिसूचक पछिल्लो समय ५ कारोबार दिनमा नै वृद्धि भएको देखिन्छ । जुन कात्तिक २४ गते परिसूचक १६५२ दशमलव ८१ विन्दुबाट वृद्धि भएर मङ्सिर ४ गते बजार बन्द हुँदा १७७८ दशमलव १२ विन्दुमा पुगेको हो । यही लयमा परिसूचक वृद्धि हुँदै जाने हो भने केही दिनभित्रै नेप्सेले अलटाइम हाईको नयाँ रेकर्ड राख्ने अनुमान गर्न सकिन्छ ।

त्यसैले नेप्से परिसूचक भाग्यमानी मानिन्छ । पहिलो कुरो, अर्थतन्त्र खराब अवस्थामा छ । बन्दाबन्दी खुकुलो भए तापनि व्यापार व्यवसाय पुरानै अवस्थामा फर्कन सकेको छैन । आर्थिक गतिविधिहरूको मापकहरूको अवस्था नाजुक छ भन्ने कुरा विभिन्न अध्ययन, राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायहरूका प्रतिवेदन तथा अर्थविद्हरूको भनाइबाट पनि स्पष्ट हुन्छ । यसैबीच राजनीतिक घटनाक्रम दिनदिनै बिग्रँदै गएको छ । सरकारका क्रियाकलापको जनस्तरमा र सरकार सञ्चालक दलभित्रैबाट आलोचना भइरहेको छ । यस्तो अवस्थामा पनि शेयरबजारमा परिसूचक दिनदिनै लगातार उकालो लागिरहेको छ । दोस्रो कुरो, पूँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पक्षहरू फितलै छन् । शेयर शिक्षा, प्रशिक्षण तथा जनचेतना अभिवृद्धि हुन सकेको छैन । धेरै मुलुकमा शेयरबजारमा पूर्ण अनलाइन कारोबार प्लेटफर्म, अप्शन, सर्टसेलिङ, मार्जिन लेन्डिङजस्ता सुविधा हुन्छन् । लगानी जोखिमलाई व्यवस्थापन गर्न भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डजस्ता वैकल्पिक लगानी कोषलाई कार्यान्वयन गरिएको हुन्छ । तर, नेपाली पूँजी बजारले ४ दशक लामो इतिहास बोके तापनि अन्तरराष्ट्रिय मापदण्डअनुरूप छेउछाउसम्म पनि पुग्न सकेको छैन । पूँजी बजारको विकास र विस्तारका लागि बेलाबखत उठ्ने गरेका मागहरू सम्बोधन हुन सकेका छैनन् । तैपनि बजार अहिलेसम्मकै उच्च अंकको रेकर्डतिर सोझिएको देखिन्छ । तेस्रो कुरो, महँगो ब्रोकर कमिशन, डीपी शुल्क र सेबोन शुल्कलाई घटाउनुपर्ने आवाज बारम्बार उठिरहँदा र धितोपत्र बोर्डले घटाउने मौखिक आश्वासन दिइरहँदा पनि हालसम्म पनि घट्न नसकेको अवस्था छ । त्यसैगरी पूँजीगत लाभकर पनि सबै किसिमका लगानीकर्तालाई एउटै दर कायम हुनु न्यायोचित छैन । जुन कुरा आव २०७७/७८ को बजेट आउनुअघि धितोपत्र बोर्डले पेश गरेकोे सुझावका बुँदाहरूबाट पनि प्रस्टिन्छ । पूँजीगत लाभकार कस्तो लगानीकर्तालाई कुन दर लगाउने भन्ने कुराले मात्र न्यायोचित ढंगले लाभकर उठाउने विषय स्पष्ट हुन्छ ।

धितोपत्र बजारको विकास, विस्तार तथा सुधारका लागि गर्नुपर्ने काम थुप्रै छन् । नेपाल सरकारको बजेट कार्यक्रम, आवधिक योजना, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति, मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गर्ने देखी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन, धितोपत्र बजारको अवस्था तथा सरोकारवालाहरूले उठाएका सुधारका माग तथा सुझावलाई कार्यान्वयन गर्नु नियामक निकाय तथा बजार सञ्चालकको दायित्व हो । धितोपत्र बजार पारदर्शी, स्वस्थ एवं प्रभावकारी नभई बजारको दिगो विकास हुन सक्दैन । तर, अहिले बढेको नेप्से परिसूचकलाई देखाएर बजार विस्तार तथा सुधारका लागि गर्नुपर्ने काम र दायित्वबाट पन्छिन वा आलटाल गर्न कतिपय जिम्मेवार व्यक्ति वा निकायलाई सजिलो भएको पनि छ । त्यसैले उनीहरूले बेलाबखत खेप्दै आएका आलोचनालाई मथ्थर पार्ने एक कडी पनि बनेको छ, बढ्दो परिसूचक । शेयरबजारको आफ्नै गति हुन्छ, सधैं बढिरहने वा सधैं घटिरहने भन्ने पनि हुँदैन । तैपनि बजारलाई विकास र विस्तार गर्न उठाउनुपर्ने कदममा भने कोही पनि चुक्नु हुँदैन । बढ्दो बजारले अवश्य पनि लगानी गर्न उत्प्रेरित गर्छ भने बजारप्रति विश्वासको वातावरण बढ्दै जान्छ । यसले गर्दा कमाउने अवसर र सम्भावना पनि रहन्छ । तर, यसको ठीक विपरीत घट्दो बजारमा हुन्छ । अहिले बजारको बढ्दो सरगर्मीसँगै पुराना, संस्थागत, अवसर कुरिरहेका तथा नवप्रवेशीहरूको संख्या बढ्दै गइरहेको छ र यसले थप उचाइको आधार तय गर्दै पनि जान्छ ।

सबै कुरा सामान्य अवस्थामा शेयरबजारलाई कतातिर डोहोर्‍याउने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । यहाँ एक दृष्टान्त हेरौं, अघिल्लो आर्थिक वर्ष २०७६/७७ को यही अवधि साउन १ देखि मङ्सिर ३ गतेसम्मको समय अर्थतन्त्र सामान्य अवस्थामा थियो, आर्थिक वृद्धिदर राम्रै थियो, अन्य सूचकहरू सकारात्मक नै थिए, आर्थिक गतिविधिहरू सबै समान्य नै थियो, राजनीतिक अवस्था पनि ठीक ठाकै थियो । तर, नेप्से परिसूचकमा अहिलेको जस्तो वृद्धि थिएन । २०७६ साउन १ गते नेप्से परिसूचक १२७४ दशमलव ७६ विन्दुमा थियो भने सोही वर्षको मङ्सिर ३ गते परिसूचक ११२९ दशमलव  ९९ विन्दुमा थियो । यस अवधिमा १४४ दशमलव  ७७ अंकले नेप्से परिसूचकमा गिरावट आएको थियो । तर, अहिलेको यो अवस्थामा अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू सुधार हुन नसके पनि यो आर्थिक वर्ष २०७७/७८ को साउन १ देखि मङ्सिर ३ गतेसम्मको अवधिमा नेप्से परिसूचक भने ३४७ अंकले वृद्धि भई १७४१ दशमलव ८१ पुगेको छ । लगानीकर्ताको मनोविज्ञानलाई प्रभावित पार्ने कुरा शेयरबजारसम्बन्धी मिडियामा सम्प्रेषित समाचार, प्रतिवेदन आदिले लगानीकर्तालाई सबैभन्दा बढी भ्रमित र आशावादी पार्ने गरेको पनि पाइन्छ । त्यसैले लगानीकर्ताले भ्रमित नहुन सकेसम्म प्राथमिक स्रोतलाई पछ्याउनु श्रेयस्कर हुन्छ ।

राजनीति तथा अर्थतन्त्रको सामान्य अवस्थामा भन्दा खराब अवस्थामा नेप्से परिसूचक असामान्य वृद्धि हुनुलाई निकै गम्भीर रूपमा लिनुपर्छ । यस्तो अवस्थामा लगानीकर्ता बढी संयमित भई लगानी गर्नु राम्रो हुन्छ । हुन त हालको अवस्थामा लगानीका अन्य अवसर प्रायः ठप्प हुनु, ऋणको ब्याजदर घट्नु, संस्थागत लगानीकर्ता (स्टक डिलर)को प्रवेश हुनु, प्रविधिमैत्री कारोबार हुनु, अवसर कुरिरहेका लगानीकर्ता तथा नवप्रवेशी युवा लगानीकर्ताको संख्या बढ्दै जानुले बजारलाई अस्वाभाविक उतारचढाव हुनबाट नियन्त्रणमा राख्छ भने बजार थप बलियो हुँदै जानेछ । ब्याजदर, लगानीका क्षेत्र र अवसरमुखी लगानीकर्ता जस्ता पक्षहरू बजारका लागि स्थायी तत्त्व होइनन् । अहिलेको यो अवस्था सामान्य हुदै जाँदा शेयरबजारमा पछिल्लो समय कहीँकतै लगानीको ठाउँ नपाएर आएका लगानीकर्ता, कहीँकतै लगानी गर्ने ठाउँ नपाएर घटेको ब्याजदर पहिलेकै अवस्थामा फर्किएमा शेयरबजार बढिनै रहन्छ भन्न सकिँदैन । त्यो जोखिमको पाटोलाई पनि लगानीकर्ताले ध्यान पु¥याउनुपर्छ । तर, अवसर खोज्दै आएका नवप्रवेशी लगानीकर्तालाई बजारमा टिकाइराख्न नियामक निकाय र बजार सञ्चालकले उत्प्रेरकको भूमिका भने निर्वाह गर्नुपर्छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्