ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खाद्य कम्पनीको सुपथ मूल्य पसल माघ २ सम्म

२०७७ मंसिर, ८  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारजस्ता चाडपर्वलाई लक्षित गरी खोलेको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालन गर्ने भएको छ । सरकारले पहिलोपटक माघेसंक्रान्तिलाई समेत लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । खाद्यले असोज १५ गतेबाट सञ्चालन गरेको सुपथ मूल्य पसलको अवधि मङ्सिर ६ सम्म थियो ।

माघे संक्रान्ति पर्व र कोरोना महामारीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्ने समयसीमा लम्ब्याइएको कम्पनीले बताएको छ । खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, लगनखेल, सूर्य विनायक, नक्खुलगायत देशभरका २९ स्थानमा सुपथ मूल्य खोलेको थियो । तिनलाई माघ २ गतेसम्म निरन्तरता दिन लागेको कम्पनीका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार खाद्यका हकमा सुपथ मूल्य पसललाई निरन्तरता दिने निर्णय भइसकेको भए तापनि साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानले भने अझै निर्णय गरिसकेका छैनन् । यी दुवै संस्थानले सुपथ मूल्य पसलको समयसीमा बढाउने विषयमा आन्तरिक छलफल थालेको र सोमवारसम्म निर्णय हुन सक्ने बताइएको छ ।

खाद्यले दशैंतिहारदेखि छठसम्मको अवधिमा २० हजार क्वीन्टल खाद्यान्न बेच्ने लक्ष्य लिएको भए पनि कोरोना महामारीको प्रभावका कारण लक्ष्यअनुसार खाद्यान्न बेच्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् । उनका अनुसार यस अवधिमा खाद्यले करीब १० हजार क्वीन्टल खाद्यान्न मात्र विक्री गर्न सकेको छ । गतवर्षको यही अवधिमा खाद्यले १८ हजार क्वीन्टल खाद्यान्न विक्री गरेको थियो ।

सुपथ मूल्य पसलमा चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, नून, चिनी, आँटा, घिउ, पनिर, स्यानिटाइजर, इन्डक्शन चूल्हो र खसीबोका समेत विक्री गरिएको थियो । तीनआटै कम्पनीले वस्तुको विविधीकरणका लागि एकअर्काका उत्पादन तथा खाद्य सामग्री साटफेर गरेर पनि विक्री गरेका थिए ।

चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहयोग पुग्ने अपेक्षासहित सरकारले हरेक वर्ष चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्