ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटन मन्त्रालयको पत्राचारमा स्वास्थ्यको सक्रियता

पीसीआर रिपोर्ट प्रकरणमा स्वास्थ्यले माग्यो चार प्रयोगशालास“ग स्पष्टीकरण

२०७७ मंसिर, ८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आशंकामा सरकारले काठमाडौंका चार अस्पतालका प्रयोगशालासँग स्पष्टीकरण माग गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को आइतवार बसेको बैठकले कोभिड परीक्षण गर्ने स्टार अस्पताल, सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरेटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

नेपालबाट विभिन्न एयरलाइन्सबाट विदेश गएका यात्रुहरूमा पीसीआर परीक्षणमा पोजेटिभ नतीजा देखिएपछि यसबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छानबिनका लागि पत्राचार गरेको थियो । निजी अस्पतालहरूले दिएका नेगेटिभ पीसीआर रिपोर्ट देखाएर नेपाल वायुसेवा निगम सहित विभिन्न एयरलाइन्सबाट विदेश गएका यात्रुहरूमा त्यहाँ पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

अक्टोबर ३ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट हङकङ पुगेका ६ जना यात्रुमा कोरोना पोजेटिभ पाइएको थियो । अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधानअनुरूप नेपाली प्रोटोकल अनुसार त्यहाँ पुगेका यात्रुमा कोरोना पोजेटिभ देखिएपछि त्यहाँको सिभिल एभिएशन डिपार्टमेन्ट (सीएडी)ले २ साताका लागि उडानमा रोक लगाएको थियो । त्यसपछि अस्पतालका प्रयोगशालाबाट नक्कली रिपोर्ट वितरण गरिएको आशंकामा पर्यटन मन्त्रालयले छानबिनका लागि कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको थियो ।

उक्त प्रयोगशालाले नमूना संकलन गरेपछि नेगेटिभको हकमा एक महीना र पोजेटिभको हकमा तीन महीना स्टोर गरी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि स्पष्टीकरण सोधिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नक्कली रिपोर्टको कारोबार फैलिए विश्वमै नेपालको छविमा नकारात्मक असर पुग्न सक्ने भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्यलाई गरेको पत्राचार अनुसार  स्पष्टीकरण सोधिएको हो । सो पत्रपछि मन्त्रालयको ‘स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा. मुकुन्दा शर्माको संयोजकत्वमा तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्